पाल्पामा कालीगण्डकी डाइभर्सनको विरोध

पाल्पा । सरकारले गत आईतबार संघीय संसद्मा पेस गरेको आव ०७९/८० को वार्षिक बजेटमा कालीगण्डकी–राम्दी–तिनाउँ डाइभर्सनको अध्ययन कार्य अगाडि बढाउने उल्लेख गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमा कालीगण्डकी–तिनाउँ डाइभर्सन आयोजनाको अध्ययनकार्य अघि बढाउने विषयलाई समावेश गरेपछि तल्लो तटीय क्षेत्रका जनप्रतिनिधिले विरोध गर्दै ध्यानाकर्षण गराएका छन् ।

कालीगण्डकीको पानी राम्दीबाट डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने योजनाविरुद्ध राम्दीदेखि तल्लो क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीले पटकपटक विरोध गर्दै आइरहेका छन् ।
पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र स्याङ्जाको चापाकोट नगरका प्रमुख ईश्वर खाँण नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई र ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालललाई ध्यानाकर्षण पत्र बुझाउँदै आयोजना अगाडि नबढाउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा सभापति देउवालाई कांग्रेस उपसभापति धनराज गुरुङमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो । उपसभापति गुरुङले आपूm पनि यस परियोजनाको बिपक्षमा सधैँ रहेको स्पष्ट पार्दै प्रधानमन्त्री तथा सभापति देउवालाई पनि आपूmले यसलाई अगाडि नबढाउन आग्रह गर्ने जानकारी दिए ।

ऊर्जामन्त्री पम्फा भूसालले ध्यानाकर्षण पत्र बुझ्दै सो परियोजनाका बारेमा आफू पनि जानकार रहेकाले आयोजना अगाडि नबढ्ने कुरामा ढुक्क हुन आश्वस्त दिएका छन् । ध्यानाकर्षण पत्रमा यो आयोजना अगाडि बढाउँदा कालीगण्डकीको राम्दीभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दाको दैनिकी, सांस्कृतिक, धार्मिक र वातावरणीयलगायत मानव सभ्यताका विविध पक्षमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।

‘समान क्षेत्रीय विकासको अवधारणा विपरीतको कार्य हुने र विकासका नाममा विनाशको परियोजना भएकोले यसको लागत, उपलब्धि एवं तटीय क्षेत्रका बासिन्दाको भौगोलिक आवश्यकता लगायतका आधारमा अनुपयुक्त आयोजना भएकोले यो परियोजना खारेजीको माग गर्दछौँ’, ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
स्थानीय बासिन्दाको आग्रह विपरीत परियोजनालाई अगाडि बढाउन खोजेमा चरणबद्ध आन्दोलन अगाडि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ । धार्मिक तथा पर्यटकीय कालीगण्डकी नदीलाई डाइभर्सन गरियो भने तल्लो तटीय आसपासका क्षेत्रमा नराम्रो प्रभाव पार्ने रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए ।

‘कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई डाइभर्सन गरेर पानी अन्यत्र लगियो भने तल्लो क्षेत्र उजाडमय हुनेछ, पानीका मुहान सुक्ने, यसले पर्यावरणमा नराम्रो असर पार्छ, यसको विरोधमा नगर सरकारले आवाज उठाइरहेको छ’, नगरप्रमुख थापाले भने ।
विगतमा पनि सरकारले यस आयोजनालाई अगाडि बढाउन खोजेकोमा प्रभावित क्षेत्रका बासिन्दाको बिरोधका कारण काम रोकिएको थियो । त्यसैगरी, सर्वोच्च अदालतमा विचाराधिनसमेत रहेको यस आयोजनालाई अगाडि बढाउन खोज्नु आफैँमा न्यायिक जनसरोकारको हित विपरीत हुने उनीहरूको भनाइ छ ।

विश्वकै एक मात्र शालिग्राम पाइने पवित्र कालीगण्डकी नदी डाइभर्सन कार्य कुनै पनि हालतमा गरिनु नहुने बताउँछन्, कालीगण्डकी संरक्षण अभियानका अभियन्ता तथा समाजसेवी कुलराज चालिसे । रामपुर नगरले कालीगण्डकीको सभ्यता जोगाउन र यसलाई आयआर्जनसँग जोड्न व्यावसायिक रूपमा जालयात्रा सञ्चालनका लागि युवालाई तालिम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया