श्रीमानको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

चितवन । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टमार्ट उपचारमा हुँदा मुटुको चाल अचानक रोकिन पुगेर मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टमार्टममा हुनुहुन्थ्यो, गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने । पाँच दिनअघि ४० वर्षीय श्रीमान रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना भएलगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरेको छ ।

गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्‍गको चार तह च्यातिएको थियो भने कम्मरको हड्‍डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।

घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यान मार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकोमा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान गइसकेकाले ज्यानसम्बन्धी र बलात्‍कार मुद्दामा कानूनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया