कालिकोटको ९ स्थानीय तहमा कसको मत कति ?

कालिकोट । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम देशमा जारी रहेता पनि कालिकोटको स्थानीय तहमा मतगणना सकिएर पनि सपथ लिइसकेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमा ३ वटा नगरपालिका छन् भने ६ वटा गाउँपालिका रहेका छ्न् । गाउँ–नगरमा यस्तो छ मत परिणाम ।

१. पलाता गाउँपालिका

माओवादी केन्द्रको वर्चश्व भएको यो पालिकामा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २ सय ९२ मतका साथ अध्यक्षमा निर्वाचिन भएका छन् । उनले कांग्रेसका केशरसिंह बमलाई पराजित गरेका हुन् । बम दोस्रो पटक पराजित भएका छन् । बमले एक हजार ४ सय १३ मत पाए ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७ सय ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५ सय ९४ मत पाइन् । उपाध्यक्षका कांग्रेस तेस्रो स्थानमा छ ।
२०७४ मा यहाँ माओवादी केन्द्रका लक्ष्मण बहादुर बमले १ हजार ४ सय २० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

२. तिलागुफा नगरपालिका

माओवादीको गढ मानिने यो पालिकामा एमाले र कांग्रेस मिलेर माओवादीलाई पराजित गरेका छन् । कांग्रेसका शंकर प्रसाद उपाध्याय २ हजार ९ सय १६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५ सय ४० मत ल्याए ।

यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नवराज कोइरालाले ७ सय ८० मत पाए । उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७ सय ५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुमारी ओलीले २ हजार ४ सय १५ मत प्राप्त गरिन् । ०७४ मा यो पालिकाको प्रमुखमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेका थिए ।

३. रास्कोट नगरपालिका

यो पालिकामा माओवादी केन्द्रका धर्मराज शाही (पोषण) ३ हजार ४७ मतसहित प्रमुखमा विजयी हुँदा एमालेका दयाराम सिम्खाडाले २ हजार १ सय १७ मत प्राप्त गरे । कांग्रेस तेस्रो नम्बरमा थियो । यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका मनिराज बराल २ हजार ८ सय ९ मतसहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ३सय १ मत प्राप्त गरिन् ।

०७४ मा पनि यो पालिकाको नेतृत्व माओवादी केन्द्रले नै जितेको थियो । यहाँ माओवादीका काशीचन्द्र बरालले दुई हजार १ सय १५ मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए । एमालेका मनिराज बरालले एक हजार ८ सय ३० र कांग्रेसका दानबहादुर बमले एक हजार ४ सय २७ मत पाएका थिए । ०७४ मा एमालेबाट पराजित मनिराज बराल यो पटक समाजवादीबाट उपप्रमुखमा विजयी भए ।

४. शुभकालिका गाउँपालिका

यो पालिकामा माओवादीका गोविन्दप्रसाद आचार्यले जितेका छन् । उनले २ हजार ४ सय ९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका पुष्पराज आचार्यले एक हजार ५ सय ९५ मत प्राप्त गरे । उनी पूर्व पत्रकारसमेत हुन् । यहाँ एमाले तेस्रो स्थानमा छ । उपाध्यक्षमा कांग्रेसकी धर्मकला शाहीले २ हजार ६० मत ल्याएर निर्वाचित हुँदा एमालेकी लछिमा चौलागाइँले एक हजार ४ सय ३७ मत प्राप्त गरिन् । यहाँ कांग्रेस–माओवादीबीच तालमेल भएको थियो । ०७४ मा भने यहाँ एमालेले जितेको थियो । एमालेका खडानन्द चौलागाइँले दुई हजार २ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका गोविन्दप्रसाद आचार्य पराजित भएका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेले नै जितेको थियो । यो पटक एमालेबाट माओवादीले यो पालिका खोसेको छ ।

५. महावै गाउँपालिका

यो पालिकामा माओवादीका खेमबहादुर सिंह (भिजन) अध्यक्षमा निर्वाचित भएका छन् । उनले २ हजार २७४ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत पाए । उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल निर्वाचित भएका छन् । उनले २ हजार २ सय ७१ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सृजना शाहीले ८सय २१ मत प्राप्त गरिन् ।

यहाँ माओवादीले गठबन्धनको सर्कुलर विपरीत एमालेसँग तालमेल गरेको थियो । सोही अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी भएका हुन् । ०७४ मा कांग्रेसले जितेको एकमात्र पालिका यही हो । कांग्रेसका नन्दबहादुर सिंहले एक हजार ३सय ४५ मत पाएर निर्वाचित हुँदा माओवादीका सर्पराज सिंहले एक हजार २ सय ७६ मत पाएका थिए । उपाध्यक्षमा एमालेका मनराज शाहीले एक हजार ३ सय २२ मतसहित विजयी हुँदा माओवादीले १ हजार १ सय ३० मत पाएको थिए ।

६. नरहरीनाथ गाउँपालिका

यो पालिकामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नगेन्द्रबहादुर विष्टले २ हजार ६ सय ३६ मत प्राप्त गरेर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका धीरबहादुर विष्टले २ हजार ४ सय ४५ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कमल कुमार शाहीले २ हजार ९ सय १७ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेसकी सीता रावलले २ हजार २ सय ८३ मत प्राप्त गरिन् ।

यहाँ एमाले तेस्रो नम्बरमा छ । ०७४ मा यो पालिकामा एमालेले जितेको थियो । एमालेका धीरबहादुर विष्टले दुई हजार ४ सय ६० मत ल्याई निर्वाचित हुँदा माओवादीका अग्रबहादुर विष्टले दुई हजार १ सय ३७ मत ल्याएका थिए । पार्टी विभाजनपछि विष्ट समाजवादीमा गएर अध्यक्षको उम्मेदवार बनेका थिए । उनी दोस्रो पटक पनि पराजित बने । ०७४ मा यो पालिकाको उपाध्यक्ष माओवादीले नै जितेको थियो ।

७. पचालझरना गाउँपालिका

यो गाउँपालिकामा माओवादीले जितेको छ । माओवादीका देवराज शाही २ हजार ३ सय ६२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर बोहाराले १ हजार ७ सय २९ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादीले नै जितेको छ । माओवादीकी अल्किना बमले २ हजार ३ सय ९८ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी रना रोकायाले १ हजार २सय ३६ मत प्राप्त गरिन् । ०७४ मा पनि माओवादी केन्द्रका खड्गराज सेजुवाल १ हजार ६सय २३ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए । यो कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहपालिका समेत हो ।

८. खाँडाचक्र नगरपालिका

यो पालिकामा ०७४ मा एमालेको वर्चश्व थियो । यो पटक एमालेको विरासत स्वतन्त्रबाट उम्मेदवार उठेका कमलबहादुर शाहीले भत्काइदिएका छन् । एकीकृत समाजवादीका नेता शाहीले नेताहरुकै सपोर्टमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठवन्धनमा कुनै पनि जिम्मेवारी पद नपाएपछि एकीकृत समाजवादी पार्टी खाँडाचक्र नगरपालिकाले स्वतन्त्र चुनावमा लड्ने निर्णय गरेपछि कमल शाहीले हाँस चिन्हबाट नगरप्रमुख जितेका छन् ।

शाहीले २ हजार ९ सय १९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत पाए । एमालेका नेताहरुको आँकलन कालिकोटमा यही पालिकामा मात्र जित्ने थियो । तर, एमाले विभाजनपछि जन्मेको समाजवादीकै नेताले स्वतन्त्र उम्मेदवारी दिएर एमालेलाई पराजित गरे ।

प्रमुखमा यहाँ कांग्रेस तेस्रो स्थानमा छ । उपप्रमुखमा माओवादीका उम्मेदवार गणेशबहादुर शाही निर्वाचित भएका छन् । शाहीले २ हजार ९ सय २६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिनाकुमारी शाहीले २ हजार ३ सय ९९ मत ल्याइन् । ०७४ मा यहाँ उपाध्यक्ष पनि एमालेले नै जितेको थियो । जिल्लाको सदमुकाम रहेको नगरपालिकामा स्वतन्त्र उम्मेदवारीले जित हात पारेको छ ।

९. सान्नित्रिवेणी गाउँपालिका

यो पालिकाको अध्यक्षमा पुतली चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मोहन बहादुर केसीले विजयी प्राप्त गरेका छन् । उनले १ हजार ८ सय १९ मत प्राप्त गरे । माओवादी केन्द्रले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले माओवादीकै डम्बर बहादुर शाहीलाई पराजित गरे ।

शाहीले १ हजार ३ सय ३४ मत पाए । उनी निवर्तमान अध्यक्ष समेत हुन् । एमाले भने तेस्रो नम्बरमा रह्यो । उपाध्यक्षमा भने एमालेकी पार्वती सिंह (संज्याल) ले १ हजार ६सय ७२ मत सहित निर्वाचित हुँदा कांग्रेसकी पशुविना बमले १ हजार २ सय १४ मत प्राप्त गरिन् । ०७४ मा यहाँ माओवादी कै वर्चश्व थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया