नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

पर्सा । धोबिनी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष मदनप्रसाद चौहानले बुधबार पदभार ग्रहण गरेका छन् ।

सोमबार प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएपछि पालिका उपाध्यक्ष सहितका अन्य नवनिर्वाचित जनप्रतिनिधीहरुलाई शपथ खुवाएका नवनिर्वाचित अध्यक्ष चौहानले बुधबार गाँउपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बुधबार गाँउपालिका कार्यालयमा पुगेका नवनिर्वाचित अध्यक्ष चौहानलाई गाँउपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि आफ्नो कार्यकक्षमा पुगेका चौहानले आफू बस्ने कुर्सीलाइ ढोग्दै पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष चौहान जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेर ३ हजार ९१ मत प्राप्त गरि पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसको तर्फबाट नारायण कुर्मीले ३ हजार ७१ मत ल्याएका थिए ।

बुधबारको पदभार ग्रहण समारोहमा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया