बाबुको पहिचान नखुलेको बच्चाको जन्मदर्ता गर्दै पदभार ग्रहण

दोलखा । भर्खरै निर्वाचित जनप्रतिनिधि विभिन्न लोकप्रिय निर्णय गरेर चर्चामा आइरहेको बेला दोलखाका एक अध्यक्षले भने फरक खालको कार्यक्रम गरेर पदभार ग्रहण गरेका छन् । जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले बाबुको पहिचान नखुलेका अपांग÷अशक्त महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गराएर गाउँपालिकाको पदभार ग्रहण गरेका छन् ।

केसीले पदभार ग्रहण गर्दै आफ्नो औपचारिक कार्यकाल सामाजिक सेवाको कार्यमार्फत सुरुआत गरेका हुन् । गाउँपालिकाको वडा–५ सहरेका एक अशक्त महिलाबाट ०७८ साल कात्तिक ९ गते बच्चा जन्मिएको थियो । बच्चा आमा अशक्त भएका कारण बाबुको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । अशक्त महिला दीपिका खड्काबाट जन्मिएको बच्चा अहिले अनाथ बालिकालाई लालनपालन गरिरहेको संस्था आवाज नेपालले हेरचाह गरिरहेको छ ।

अध्यक्ष केसीले नगद पाँच हजार बच्चा हेरचाह गरिरहेको संस्थालाई हस्तान्तरणसमेत गरेका छन् । बच्चाको र आमाको पालनपोषण गर्न उचित सहयोग गर्ने गाउँपालिकाको भनाइ छ । गठबन्धनका साझा उम्मेदवार बनेका समाजवादीका नेता रहेका केसी दुई हजार मतले विजयी भएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदी, वडा अध्यक्ष शम्भुप्रसाद फुयाल, नेपाली कांग्रेसका शंकर न्यौपाने नेकपा माओवादीका उद्द्प खाती, समाजवादी नेतालगायत स्थानीयहरूको उपस्थितिमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया