सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

सप्तरी । स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच पालिकामा प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ ।
कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । ०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि जित हासिल गरेको सुरुंगामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेसका जिल्लाअध्यक्ष रामदेव साहले बताए ।

यसअघि जितेको विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्षमा भने विजयी भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ ।

अघिल्ला स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । तीमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । अघिल्लो निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यहाँ अहिले लोसपाले जितेको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो । जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहेका थिए । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्षले मात्र लोसपा रोजे ।

यी सबै समायोजनका कारण निर्वाचनपूर्व सप्तरीमा १८ मध्ये जसपाको १० स्थानीय तहमा नेतृत्व थियो । मनोनयनकै दिन राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादव माओवादी प्रवेश गरेर उम्मेदवारी दिए पनि जसपाले जित हासिल गरेको छ । यसैगरी विष्णुपुर गाउँपालिकाको अध्यक्षमा यसअघि कांग्रेसले जितेकामा अहिले जसपा निर्वाचित भएको छ । बोदे बर्साइन नगरपालिकामा पुरानो विरासत जोगाउन जसपा सफल भएको छ ।

त्यसबाहेक जसपाले अन्य पालिकाको नेतृत्व गुमाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीको क्षेत्र नम्बर २ मा रहेको चार पालिकामध्ये जसपाले तीन वटामा हार बेहोरेको छ । महादेवा र छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । जिल्ला र प्रदेशस्तरमा नेताहरूले पार्टीकै उम्मेदवारको विरोध गरेर अन्तर्घात गरेकाले जसपाले धेरै सिट गुमाउनुपरेको बताउँदै जसपाका युवा नेता तारकेश्वर यादवले त्यस्ता व्यक्तिले तुरुन्तै राजिनामा दिनुपर्नेमा जोड दिएका छन् ।

अघिल्लो निर्वाचनमा सप्तकोसी र कञ्चनरूप नगरपालिकाको प्रमुखमा जितेको एमालेले यसपटक ती दुवै पालिका जोगाउन नसके पनि यसअघि नजितेको तीन पालिकामा जित हासिल गरेको छ । एमालेले कांग्रेसले जितेका अग्नीसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाको प्रमुखमा जित्नाका साथै जसपाले जितेको डाक्नेश्वरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा पनि जितेको छ । जसपा र कांग्रेसपछि एमालेले आफ्ना २४ जनालाई वडा अध्यक्षमा निर्वाचित गराउन सफल भएको छ ।

जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक तीन वटा गाउँपालिको अध्यक्षमा सीमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष र उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागेपनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल भएको राजपाका जिल्लाअध्यक्ष सुनिल झाले बताए ।

लोसपाले आफ्नो नेतृत्वमा रहेको तिलाठी कोईलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिकाको अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका छन् । लोसपा जिल्लामा १२ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाको बलान बिहुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जितेको छ । सिके राउतको गृहपालिका महादेवा–२ जनमत पार्टीले जितेको छ भने गाउँपालिकामा बहुमतका साथ लोसपाले जितेको छ । जसपाले सुरक्षित पालिका मान्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले खोसेको छ ।

पूर्व नगर प्रमुख भएका छन् । यस्तै जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकामा एउटा वडा अध्यक्षमा जसपा समेटिएको छ । जसपाबाट अध्यक्ष र उपाध्यक्ष दुवै पद यसपटक जनमत पार्टीले खोसेको छ । जनमत पार्टीले जिल्लाका सात वटा वडाध्यक्षसमेत जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटै पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र)ले यसपटक खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएको छ ।

नेकपा एकीकृत समाजवादीले शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । उक्त दलले शम्भुनाथ नगरपालिकामा पाँच, सुरुंगा नगरपालिकामा चार, खडक नगरपालिकामा दुई, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा एक÷एक वडाध्यक्ष जितेको छ । राप्रपाले राजविराज नगरपालिका–१३ मा त्रिलोकीनाथ चौधरीलाई वडाध्यक्षमा जिताउन सफल भएको छ ।

प्रतिक्रिया