पोखरामा रोकिएको मत गणना ७ घण्टापछि सुरु

फाइल तस्विर

पोखरा । सात घण्टादेखि रोकिएको पोखराका तीन वडाको मत गणना सुरु भएको छ । एमालेले वडा नं. १८ मा ९ मत हराएको भन्दै फेरि मत गणनाका लागि निवेदन दिएको थियो । यही मत हराएको विषयलाई लिएर वडा नं. २२, ३२ र ३३ को मत गणनास्थल एमालेका प्रतिनिधिले छाडेका थिए ।

दिउँसो १२ बजेदेखि रोकिएको मतगणना सातघण्टा पछि सुरु भएको छ भने वडा नं. १८ को विषयचाहिँ कानुनी प्रक्रियामा लैजाने सहमति जुटेको छ ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइकाअनुसार वडा नं. १८ को विवाद ऐन अनुसार अगाडि बढाइने छ । उक्त निवेदनलाई लिएर कार्यालय गम्भीर रहेको उनले बताए ।

यो वडामा एमालेका पुष्कल थापा कांग्रेसका शिव तिमिल्सनासँग तीन मतले पराजित भएका थिए । एमालेका थापाले एक हजार ६४० मत ल्याएका थिए भने तिमिल्सिनाले एक हजार ६४३ मत ल्याएका थिए ।

यो वडामा चार हजार ३४८ मत खसे पनि गणनाको क्रममा चार हजार ३३९ मत मात्र भेटिएको थियो ।

एमाले पनि सहमत भएपछि अहिले वडा नं. २२, ३२ र ३३ को गणना सुरु हुन लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गर्दै प्रतिधिनिलाई गणनास्थलमा बोलाएको छ ।

प्रतिक्रिया