नेपाल एकीकरणपछि कृषि क्षेत्रमा परेको दुस्प्रभाव

टेकप्रसाद वास्तोला

पहाडका पाखाहरू ढुंगाका पर्खाल खडा गरी सम्याई तथा अजंगका पहाडहरू फोरी कुलो निकाली खेती गर्ने गर्थे । बिउ अनुसारको बालो भन्ने नेपाली उखानै छ त्यहीअनुसार धेरै बाली उब्जाउन राम्रो बिउको छनौट गर्थे । बिउ खानु भनेको जिउ खानुजस्तै हो भनी बिउ छुट्टाएर मात्र अन्य अनाज खान्थे । राम्रोसँग फलेर परिपक्क भइसकेका बालाहरू बल्याई संकलन गर्ने र तीबाट पनि पुष्ट दानाहरूलाई मात्र बिउका लागि राख्थे । बिउ किराबाट जोगाई लामो समयसम्म भण्डारण गर्नका लागि माटाका घैटामा बिउ राखी खुर्सानीको धुलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्दथे ।

नेपालको कृषि विकासको इतिहास खोतल्दै जाने हो भने एकीकरण अघिको काल खण्ड र त्यसपछिको कालखण्डलाई छुट्टाछुट्टै केलाउनुपर्ने हुन्छ । पृथ्वीनारायण शाहको देहवसानपछि पनि राज्य एकीकरणको क्रम सकिएको थिएन । तर, उनको निधनपछि शासक, राज्यसत्ता माथिको भाइभारदार तथा रानीहरूको खिचातानी, आपसी फुट खटपट र सोही समयमा नेपाल–अंग्रेज युद्ध, नेपाल–तिब्बत युद्धजस्ता परिस्थिति उत्पन्न भए । यी परिस्थितिले समग्र अर्थ व्यवस्था थिलथिलो भएका कारण कृषिको विकास तथा यसतर्फ राज्यको ध्यान जान सकेन ।

सत्ताको खिचातानी तथा यसका लागि उदाएका गुट उपगुटका कारण वि.सं. १९०३ मा जहानियाँ राणा शासनको उदय भयो । यो बेलासम्म युरोप, अमेरिका तथा कैयाँै मुलुकहरूमा कृषिको विकास चरम उत्कर्षमा पुगेको थियो । कृषिसँगसम्बन्धी आधुनिक उद्योगहरू सञ्चालनमा आएका थिए भने यी देशहरूमा आधुनिक कृषि औजार उपकरणको विकास भई व्यापक प्रयोगमा आएका थिए । राणाशासनको उदयसँगै समग्र राज्य सत्ता तथा राज्य व्यावस्थामा समेत परिवर्तन ल्यायो, कृषिको विकासमा पनि केही नयाँ आयामहरू थपिए । जंगबहादुर राणाले बेलायतकी महारानी भिक्टोरियाको निमन्त्रणामा वि.सं. १९०६ देखि वि.सं. १९०९ सम्म बेलायत भ्रमण गरे । बेलायतको विकासबाट प्रभावित भई त्यहाँबाट फर्कंदा स्थानीय गाईको नश्ल सुधार गर्न एक वटा जर्सी साँढे र दुई वटा गाई, रातो क्लोभर घाँसको बिउ, नदीबाट पानी तानी सिँचाइ गर्नका लागि तीन वटा पानी तान्ने मेसिन, एक÷दुई किसिमका फलका बेर्ना लिएर आएका थिए भनिन्छ ।

काठमाडांैको भकारी भनेर चिनिने पश्चिम बनको शेरा फाँटबाट मात्र अन्नको पूर्ति हुन छाडेकोले पश्चिम पहाडी क्षेत्रहरूमा विशाल टारहरू संभवतः बटार, सल्यानटार लगायतका टारहरूमा सिँचाइको प्रवन्ध गर्न सकेमा अन्नको संकट हटाउन सकिन्छ भन्ने उद्देश्यले नदीबाट पानी तानी सिँचाइ गर्न ती पानी तान्ने मेसिन बेलायतबाट जंगबहादुरले ल्याएका थिए भनिन्छ । त्यस्तै दापचाली लगायतका पहाडी गाईहरूको वंश सुधार गर्न जर्सी साँढे र तिनीहरूलाई पोषिलो घाँस खुवाउन रातो क्लोभरको बिउसमेत ल्याएका हुन् भनिन्छ । यसै बेलादेखि कृषिमा आधुनिकताको सुरुआत भएको मानिन्छ । जंगबहादुरमा कृषिको विकास उसै बेलादेखि गर्नुपर्छ भन्ने भावना आएको थियो । जंगबहादुर राणाकै पालामा नेपालमा चिया खेतीको सुरुआत ई.सम्बत १८६३ (वि.स. १९२०) देखि भएको मानिन्छ । त्यतिखेर जंगबहादुर राणा चीन भ्रमणमा गई फर्कदा चिनियाँ सम्राटबाट केही चिनियाँ जातका चियाका बिउ उपहारस्वरूप पाएकाले फर्कंदा नेपालमा भित्र्याएका थिए भनिन्छ । उनले सो चियाको रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम कर्नेल गजराज सिंह थापालाई दिएपछि इलाममा पहिलोपटक चिया बगान स्थापना भएको थियो जसलाई हाल इलाम चिया बगानको नामले चिनिन्छ । त्यसैगरी सन् १८६५ (वि.स. १९२२) मा सोक्तिम चिया बगानको स्थापना भएको थियो । नेपालको पहिलो चिया कारखाना इलाममा सन् १८७८(वि.सं. १९३५) मा स्थापना भएको थियो ।

जंगबहादुरको मृत्युपस्चात जंग खलक र धीर खलकको सत्ताको तानातान लुछाचुँडीले नेपाली आकासमा कालो बादल मडारियो । सत्ताको दाउपेचमा पल्किएका शासकहरूले कृषिको विकासतर्फ उति सारो ध्यान दिन सकेनन् । सीमित प्रविधिहरू दरबारमा मात्र सीमित भए भने ससाना कुलो बनाउने जस्ता कार्यबाहेक अन्य कृषिका विकासका काम ठप्प भए । यता समग्र अर्थतन्त्र राणाको कब्जामा थियो । त्यसबेला नेपाल कृषिप्रधान मुलुक थियो भने देशका ९८ प्रतिशत जनता कृषिमा आश्रित थिए, तर अधिकांश तराई तथा पहाडकै पनि उब्जाउ भूमि राणा र उनका समर्थकको अधिनमा थियो । यिनीहरू यस्ता उब्जाउ जमिन बिर्ताको रूपमा दर्ता गराउँथे, बिर्ता जमिनको राजस्व तिर्नुपर्दैन थियो यसले गर्दा सरकारलाई राजस्वमा ठूलो हानि हुन्थ्यो । कृषि परम्परागत थियो, वैज्ञानिक तवरबाट कृषि उत्पादन बढाउने उपाय अगाडि बढाइएन । किसानको अवस्था गएगुज्रेको थियो । धेरै पहिलादेखि चलि आएको बेदखली (अधिकारबाट वञ्चित गराइने काम), बेठ (ज्याला नपाई गर्नुपर्ने काम), बेगारी (ज्याला बेगारको खेतालो), हलिया (ऋण लिएवापत खेतीका समयमा जमिन्दारका खेतमा ऋण चुक्ता नभएसम्म श्रम गर्ने कृषि श्रमिक), बाँधा श्रम (जमिन्दारबाट धन सापट लिएवापत सो सापटी नकटुन्जेल सम्मको लागि नोकरी गर्न कबुल गरेर बसाइने व्यक्ति) आदि प्रथाले किसान पीडित थिए ।

नेपालमा कृषि विकासको संस्थागत प्रयास

प्रथम विश्व युद्धले नेपालमा पारेको असरबाट माथि उक्सन राणा प्रधानमन्त्री चन्द्रशमशेरले कृषि विकासको संस्थागत विकासको थालनी गरे । वि.सं. १९७८ मा चारखालमा पहिलो कृषिसम्बन्धी काम गर्ने कृषि अड्डाको स्थापना भयो । चन्द्रशमशेरकै पालामा सप्तरी जिल्लाको उत्तर–पश्चिम फत्तेपुरस्थित त्रियुगा नदीमा चन्द्र नहर निर्माण गरिएको थियो । यो नहर नेपालकै पहिलो आधुनिक नहर हो । यसको निर्माण कार्य वि.सं १९७९ मा सुरु भई वि.सं १९८५ मा सम्पन्न भएको थियो । उन्नत अन्नपात, फलफूल, उन्नत दुधालु जातका गाईभैँसी, धेरै फुल पार्ने पानी हाँस साथै कुखुराहरू सर्वसाधारणको पहुँचमा पु¥याउन वि.सं.१९८२ सालमा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म खुल्यो । यसै वर्षबाट कृषि अड्डालाई कृषि विभागमा परिवर्तन गरियो ।

सिंहदरबार परिसरमा स्थापित फार्मले कृषिका अन्नपात, सागसब्जीका बिउवीजन निकाली परीक्षण गरी कृषकहरूलाई वितरण गर्ने प्रबन्ध मिलाएको थियो । अहिले पनि हाम्रो गाउँघरमा स्थानीय रूपमा पाइने लेकाली मुडुला गहुँ, बासमती धान, कैला भटमास, ग्याठकोबी, बन्दाकोभी, गाँजर, चुकुन्दर, बेलायती मटर, ठूला गोलभेँडा इत्यादि यही फार्मका देन हुन भनिन्छ । चन्द्रशमशेरका पालामा युवाहरूलाई कृषि पढ्न विदेश पठाउने र तिनीहरूलाई नेपालमा काममा लगाउने जस्ता काम पनि भए । कृषि क्षेत्रमा लगानी गर्ने तेजारथ अड्डाको स्थापना गरी कृषकहरूलाई ऋण लगानी गर्ने काम पनि त्यति बेला भएको थियो । चन्द्रशमशेर राणाकै पालामा मधेसको अन्न काठमाडांै ल्याउन रक्सौलबाट अमलेखगञ्जसम्म रेल्वे, अमलेखगञ्जबाट भीमफेदीसम्म मोटर बाटो, भीमफेदीदेखि मातातीर्थसम्म रोपवे र मातातीर्थदेखि मोटर ट्रेलवे निर्माण गरी सञ्चालन भएको थियो । कृषि बस्तु निकासी तथा पैठारी गर्न बजार अड्डाको स्थापना यसै समयमा भएको थियो ।

चन्द्र शमशेरको मृत्युपस्चात कृषिको विकासले खासै गति लिन सकेन । पछि कृषिको समग्र विकास गर्ने उद्देश्यले वि.सं.१९९४ मा कृषि परिषद्को गठन भयो । परिषद्बाट कृषि विकासका लागि कृषि फार्महरू खोल्ने, सर्भेक्षण कार्यहरू गर्नेजस्ता कार्यहरू भए छाउनी बालाजु र गोदावरीमा फलपूmल नर्सरी स्थापना भयो । वि.सं. १९९७ मा ताहाचलमा परीक्षणको रूपमा केही तरकारी बिउ उत्पादन गरी जुद्ध सडकस्थित बीज भण्डारबाट बिक्री सुरु गरियो । वि.सं. १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भयो । त्यसै वर्ष नहर शाखाको समेत स्थापना भयो । वि.सं. २००० मा मकवानपुरको चित्लाङ र नुवाकोटको ककनीमा भेडा फार्महरू खुले ।

वि.सं. २००४ मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एन्ड रिसर्च फार्म खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो । यसै वर्षबाट भारतको मोतिहारी जिल्लाबाट विभिन्न जातका पाँच हजार माछाका भुरा ल्याई सानो टँुडिखेलको पोखरीमा माछा पालनको सुरुआत गरियो । यसैलाई नेपालमा आधुनिक मत्स्य पालनको सुरुआत भन्ने गरिन्छ, मोहनशमशेरका पालामा गरिएको सो कार्यका लागि राज्यबाट तीन सय रुपैयाँ निकासा भएको थियो भनिन्छ । यसरी १ सय ३ वर्षे राणाकालमा कृषि विकासको संस्थागत प्रयास भएको पाइन्छ ।

राज्य तहबाट कृषिको विकासमा जे जस्तो प्रयास भएता पनि नेपाली किसानको कृषि उत्पादन शैली अवैज्ञानिक थियो भन्न कदापि मिल्दैन, धेरै पहिलादेखि नै किसानहरूले आफ्नो बलबुताले भ्याएसम्म मौलिक तरिकाले खेतीपातीको काम गरेका थिए । पहाडका पाखाहरू ढुंगाका पर्खाल खडा गरी सम्याई तथा अजंगका पहाडहरू फोरी कुलो निकाली खेती गर्ने गर्थे । बिउ अनुसारको बालो भन्ने नेपाली उखानै छ त्यहीअनुसार धेरै बाली उब्जाउन राम्रो बिउको छनौट गर्थे । बिउ खानु भनेको जिउ खानु जस्तै हो भनी बिउ छुट्टाएर मात्र अन्य अनाज खान्थे । राम्रोसँग फलेर परिपक्व भइसकेका बालाहरू बल्याई संकलन गर्ने र तीबाट पनि पुष्ट दानाहरू लाई मात्र बिउका लागि राख्थे । बिउ किराबाट जोगाई लामो समयसम्म भण्डारण गर्नका लागि माटाका घैटामा बिउ राखी खुर्सानीको धुलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्दथे । पहाडी क्षेत्रमा वर्षादको पानी तथा भेलबाट हुने भू–क्षय रोक्न तथा भू–स्खलनबाट जमिन जोगाउन कान्ला तथा बारीका डिलमा खर, बाँस, अम्रिसो साथै विभिन्न खाले डाले घाँसका बिरुवाहहरू रोप्थे तथा जैविक छेकेबारको निर्माण गर्दथे । मकै बारीमा उर्वराशक्ति कायम गर्न मकै बालीपछि मास, मस्याङको बाली लगाउनुपर्दछ भन्ने तथा धान लगाएको खेतको आलीमा भटमास लगाउनु पर्दछ भन्ने विषयको ज्ञान नेपाली किसानहरूले धेरेवर्ष अगाडिदेखि थाहा पाई प्रयोगमा ल्याएका थिए ।

किसानहरूले धेरै वर्ष अगाडिदेखि कृषि उपजहरूको प्रशोधनसम्बन्धी प्रविधि तथा उपकरणहरू उत्पादन साथै ढुवानीसँग सम्बन्धी विभिध तेल पेल्ने कोल, उखु पेल्ने कोल, चुक अमिलो बनाउने कोल, ढिकी, जाँतो, ओखल, पानी घट्टहरू, कुटो, कोदालो, हँसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी आदि प्रयोग तथा अनेक प्रविधिहरूको विकास त त्यस बेला त भएको थियो जो आजसम्म पनि नेपाली समाज विद्यमान छ । समयअनुसार परिवर्तन हुन नसक्दा तथा आजको २१औँ सताब्दीमा भूगोल सुहाउँदो अनुसन्धानमा आधारित विकास गरी किसानसम्म पु¥याउन वर्षौंदेखि राज्य तह चुक्दा आजसम्म नेपाली कृषि इतिहासबाट सन्तोषजनकरूपमा माथि उठ्न नसकिरहेको छ ।

प्रतिक्रिया