युवकको हत्या आरोपमा दुई जना पक्राउ

बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका– २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।

स्थानीय राजवंशी पासवानको छोरा वर्ष २५ को दिपक पासवानलाई कर्तव्य गरी मारेको अवस्थामा मृतकको शव फेला परेको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

बारा प्रहरीले गरेको अनुसन्धानबाट जितपुरसिमरा उपमहानगरपालिका– २० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० का शेख नवि आलम र सोही ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ का शेख सलिम समेत मिली पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले प्रहर गरी निर्ममतापुर्वक घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपराधबाट बच्नको लागि मृतक शवलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदात पश्चात फरार भएको र उनीहरुलाई खोजतलासको क्रममा जेठ ८ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनामाथि ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरिअनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया