कावासोतीलाई नमुना शैक्षिक नगरका रुपमा विकास गर्छु : नगरप्रमुख भुसाल

कावासोती । कावासोती नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकालाई नमुना शैक्षिक नगरका रुपमा विकास गरिने बताएका छन् । कावासोती नगरपालिका अन्तरगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख भुसालले यस्ताे बताएका हुन् ।

कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक र आर्थिक गुणस्तर सुधार गर्न नगरपालिकाले विद्यालय सुधार सम्बन्धी बृहत गुरुयोजना निर्माण गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै लैजाने भुसालले बताए । विद्यालयको गुणस्तर सुधार्न एकोहोरो पढाईले मात्रै नपुग्ने भएकाले विद्यार्थीका स्वास्थ्य लगाएत अन्य विविध पक्षहरुमा पनि विद्यालयले सुक्ष्म निगरानी गर्नुपर्ने नगरप्रमुख भुसालको भनाई छ । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाई सँगसँगै उनीहरूको स्वास्थ्यमा समेत विशेष ख्याल राख्न सबै प्रधानाध्यापकहरुलाई आग्रह गरे ।

विद्यालयका बालबालिकाहरुले विद्यालयमा हुने आकस्मिक दुर्घटना एवं भवितव्यको समयमा तत्काल प्राथमिक उपचार पाउन सकुन् भन्ने हेतुले सबै सामुदायिक विद्यालयमा छिट्टै स्वास्थ्यकर्मी सहितको ‘हेल्थ डेस्क’ स्थापना गरिने समेत भुसालले बताए ।

हेल्थ डेस्क स्थापनाका लागि सामुदायिक विद्यालयमा कावासोती नगरपालिकाले जनशक्ति सहितको व्यवस्थापन गरिदिने र संस्थागत विद्यालयको हकमा विद्यालय स्वयंले हेल्थ डेस्क स्थापना गरि सन्चालनमा ल्याइने उनको भनाइ छ ।

बैठकमा कावासोती नगरपालिकाका प्रधानाध्यापकहरुले नवनिर्वाचित नगरप्रमुख विष्णुप्रसाद भुसाल र नगर उपप्रमुख फूलकुमारी थनेतलाई खादा माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम जनता माध्यमिक विद्यालय कावासोती १४ त्रिभुवनटारमा सम्पन्न भएको हो ।

यसैबीच सोही कार्यक्रममा जनता माध्यमिक विद्यालय त्रिभुवनटारले समेत नवनिर्वाचित नगरप्रमुख भुसाल र उप-प्रमुख थनेतलाई सम्मान गरेको छ । विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला भण्डारी र विद्यालयका प्रधानाध्यापक गिरिराज गिरीले सम्मान-पत्र, माला खादा र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रम जनता माध्यमिक विद्यालय त्रिभुवनटारका प्रधानाध्यापक गिरिराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया