गोपाल हमालले गरे पदभार ग्रहण, पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने निर्णय

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेलगतै उपमहानगरपालिकाको कार्यकक्षमा पुगेर हमालले पदभार ग्रहण गरेका हुन् ।

उनलाई मुख्य निर्वाचन अधिकृत जयान्द पनेरुले कैलाली जिल्ला अदालतमा बिहान पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस लगतै उनले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने पहिलो निर्णय गरेका छन् ।

सो निर्णयमा भनिएको छ, ‘धनगढीको विकास र समृद्धिका लागि सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७९–०८० देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने ।’


‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था बमोजिम आवश्यक प्रक्रिया र कारबाही चालु आवबाटै अगाडि बढाउन र यसको लागि चालु आवमा प्रयोग हुने गरी बजेट विनियोजन भैसकेकोले सो कार्य गर्न मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु’, निर्णयमा भनिएको छ ।

प्रतिक्रिया