रातो प्लेटको सवारीलाई सेतो प्लेट बनाइयो

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आफ्नो सवारीलाई सेतो प्लेटमा रूपान्तरण गरेको छ । पालिकाले पहिले सरकारी लगानीमा रातो नं. प्लेटको गाडी खरिद गरेको थियो । रातो प्लेट निजी र सेतो प्लेट सरकारी गाडी भनी पहिचान हुने गर्दछ ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि मेयर दिलीप प्रताप खाँण चढ्ने गाडी रातो नं प्लेटमा खरिद गरिएको थियो । रातो नं प्लेट भएपछि बिदाको दिन प्रयोग गर्न पाइने जिल्ला प्रशासनसँग अनुमति लिनुनपर्ने भएकोले पनि यसो गरिएको नगरवासीको भनाइ छ ।

०७९ को स्थानीय तहको निर्वाचनपश्चात यस साधनलाई सेतो नं प्लेटमा परिवर्तन गरिएको छ । ग.२.च ६६१७ को रातो प्लेटलाई ग १ झ ६१५ नं को सेतो प्लेटमा परिवर्तन गरिएको हो । दुई वर्ष अगाडि गृहमन्त्रालयमार्फत रातो नं प्लेटलाई सेतोमा परिवर्तन गर्नु भनी नगरपालिकामा परिपत्र आएको थियो । तर, गृहको परिपत्र पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

सवारी साधन प्रयोगसम्बन्धी लगबुक सबै कार्यालयले अनिवार्य रूपमा राख्नुपर्ने र स्थानीय तहले सरकारी साधन व्यवस्थापन, अनुगमन तथा नियमन गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकारी सवारी साधन बिदाको दिनमा सञ्चालन गर्न नपाइने, कार्यालयको काममा मात्रै सवारी साधनको प्रयोग गर्नुपर्ने भएकोले नं परिवर्तन नगरिएको नगरवासीको भनाइ छ । सरकारी साधन दुरुपयोग हुनसक्ने भन्दै पदवहाली पूर्व नै सेतो नं प्लेट परिवर्तन गराइएको नवनिर्वाचित मेयर कृष्ण खाँणले बताए ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया