निकम्मा बन्दै प्रहरी संगठन

गत बुधबार राती कैदी विजयविक्रम शाहले आत्महत्या गरेको खबर रोल्पा कारागारका कैदीहरूले प्रशासनलाई गरे । कारागार प्रशासनले कैदी शाहको घरमा सम्पर्क गरेपछि सनसनी पूर्ण रहस्य पत्ता लाग्यो । आत्महत्या गर्ने व्यक्ति विजयविक्रम शाह नभएर उनको सट्टा खेतालाको रूपमा कैद बसिरहेका सुन्दर हरिजन थिए । विभिन्न अपराधमा १० वर्षको जेल सजाय पाएका शाहले मासिक पारिश्रमिक दिएर आफ्नो सट्टा हरिजनलाई जेल बस्न लगाएको र आफू वैदेशिक रोजगारीमा गएको रहस्य खुल्यो । त्यो त ०७२ सालमा लागूऔषध कारोबारमा १० वर्षको जेल सजाय भुक्तान गरिरहेका रणजीत लामा सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ परे । तर डिल्लीबजार कारागारमा बुझ्दा रणजीत नाम गरेका व्यक्ति कारागारमै रहेको पाइयो ।

अनुसन्धान गर्दै जाँदा रणजीतले आफ्नो नाममा खेतालो खोजेर कारागारमा राखी आफू अपराध धन्दामै सक्रिय रहेको पत्ता लाग्यो । शाह र लामा त उदाहरण मात्रै हुन्, आफ्नो सट्टा खेताला कैदी राखेर आफू पुरानै धन्दामा सक्रिय हुने अपराधीहरूको संख्या निकै ठूलो भएको कारागारका भुक्तभोगीहरू बताउँछन् । खासगरी प्रहरी प्रशासनमा पहुँच भएका र ठूलो रकम खर्च गर्न सक्नेहरू धेरैले खेताला कैदी राखेको अनुमान गरिएको छ । कारागार प्रशासनमा रहनेहरूलाई आर्थिक तथा अन्य प्रलोभनमा पारेर आफ्नै घरमा मस्ती गरिरहेका अपराधीहरूको संख्या पनि उल्लेख्य रहेको बताइन्छ । खासगरी जेल सरुवाको बहाना बनाएर एउटाको सट्टा अर्कैलाई कैदमा राख्ने गरिएको बताइन्छ ।

हाम्रो मुलुकको वर्तमान कानुन समान प्रकृतिको अपराधमा पनि जाति तथा वर्गअनुसार अलगअलग सजाय हुने राणाकालको जस्तो छैन । कानुनको दृष्टिमा सबै नागरिक बराबर छन् । तर व्यवहारमा हेर्ने हो भने राणाशासन ढलेको सात दशक बितिसक्दा पनि निमुखालाई मात्रै कानुनी सजाय हुने र ठूलाबडाले उन्मुक्ति पाउने अवस्था विद्यमान छ । केही वर्षअघि गायक प्रविण गुरुङ हत्या प्रकरणमा भुजेल थरका एक जना गाडी चालकलाई नक्कली अपराधी खडा गरी तत्कालीन शाहजादा पारस शाहलाई उम्मुक्ति दिइएको समाचारले सनसनी मच्चाएको थियो । राज्य संयन्त्रमा पहुँच भएका अपराधीहरू उन्मुक्ति पाएका घटनाहरू थुप्रै छन् । विशेष गरी यस्ता घटनाहरूमा निर्दोष व्यक्तिलाई अपराधीका रूपमा खडा गरी वास्तविक दोषीलाई उन्मुक्ति दिने गरिएको पाइन्छ ।

केही वर्षअघि काठमाडौंको त्यौड माविका शिक्षक हरिभक्त लामिछानेको हत्या भएको थियो । हत्यारा पत्ता लगाउन माग गर्दै सांसदहरूले संसद भवनमै अनसन बसेपछि प्रहरीले एक जना सडक छाप किशोरलाई हत्याराका रूपमा खडा गरी बास्तविक दोषीलाई उन्मुक्ति दिएको समाचार पनि सार्वजनिक भएको थियो । एक वर्षअघि मात्रै प्रदेश–१ की सांसद विन्दिया कार्कीको छोराले चलाएको गाडीले ठक्कर दिँदा सडकमा हिँडिरहेका दुई जना व्यक्तिको मृत्यु भएको प्रकरणमा पनि अपराधीलाई उन्मुक्ति दिन राज्य संयन्त्र सफल भएको समाचार आएको छ । त्यसो त आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल भुक्तान गरिरहेका पूर्व डिआइजी रञ्जन कोइरालालाई छुटाउन प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले के कसरी कानुनी छिद्र प्रयोग गरे ? भन्ने कुरा जगजाहेर छ ।

कानुनलाई पैसाले किन्न सक्ने अवस्था रहेसम्म अपराध नियन्त्रण हुँदैन । कडाभन्दा कडा कानुनी सजायको व्यवस्था हुँदाहुँदै पनि मुलुकमा बलत्कार, ठगी, किर्ते, जालसाजी, हत्याजस्ता अपराधका घटना बढेर गएका छन् । धेरैजसो घटनामा पटके अपराधीहरूको संलग्नता देखिने गरेको छ । अपराधका घटना बढ्नु र पटके अपराधीहरूको संख्या बढ्नुको मुख्य कारण भनेको राज्य संयन्त्रमा खराब व्यक्तिको प्रवेश हो । प्रहरीको मिलोमतोविना कुनै पनि अपराधीले आफ्ना सट्टामा खेतालोलाई जेल राख्न सक्ने संभावना नै हुँदैन ।

यस्तो घटना तल्लो दर्जाका एक÷दुई जना प्रहरीले मात्रै गर्न सक्दैनन्, माथिल्लै दर्जाको प्रहरीसँग सेटिङ मिलाइएको हुन्छ । बुढा भइसकेका गाईगोरु काटेर खाएको अभियोगमा जेल भुक्तान गरिरहेका सिधासाधा व्यक्तिहरूको संख्या उल्लेख्य छ, यता मान्छे मारेको अभियोगमा जेल परेकाहरूलाई कानुनी क्षिद्र प्रयोग गरेर उन्मुक्ति दिइएका घटनाहरू पनि उल्लेख्य छन् । अपराध बढ्ने मात्रै होइन, जनतामा विद्रोह उत्पन्न भई राज्य ध्वस्त हुने यस्तै घटनाले हो ।

प्रतिक्रिया