धनगढी क्रीकेट एकेडेमी विजयी

काठमाडौं । कैलालीको धनगढीमा जारी टीट्वान्टी क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी भएका छन् ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा जारी उक्त प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले बुङगल क्रिकेट क्लब बझाङ र महेन्द्रनगर क्रिकेट क्लबले लिटल फ्लावर क्रिकेट क्लबलाई हराए ।

धनगढी क्रिकेट एकेडेमी ८० रनले विजयी भएको हो । जारी प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले तेस्रो खेलमा पहिलो जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

बुङगलले भने १६.२ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो । बुङ्गलका लागि किरणकुमार ठगुन्ना र सन्दीप विष्टले १८–१८ रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

धनगढीका बलर हिक्मत महराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चिएर ४ विकेट लिए । सुवास ऐर र अरुण ऐरीले २–२ विकेट लिए । धनगढीका लागि राजु रिजालले ४१ बलमा ५४ रनको अर्धसतकीय पाली खेले ।

भोजराज भट्टले ३२ रन बनाए । बलिङतर्फ बुङ्गलका लोकेन्द्र चन्द र अशोक धामीले २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच हिक्मत चुनिए । अर्को खेलमा महेन्द्रनगरले लिटल फ्लावरलाई १ सय १६ रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । लिटल फ्लावरले भने ८.२ ओभरमै केवल ३७ रन बनाउँदै अलआउट भयो ।

महेन्द्रनगरका विकास आग्रीले २.५ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । हेमन्त धामी र विपिन धामीले पनि २–२ विकेट लिए । त्यसअघि महेन्द्रनगरका लागि रोशन साउदले ५० रन बनाएका थिए ।

अनुराग सिंहले पनि ३१ रन बनाए । लिटल फ्लावरका बलर प्रकाश जैशीले ३ तथा सन्दीप खत्री र कृष्ण कार्कीले २२ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच विकास चुनिए ।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जारी उक्त प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया