परिवर्तन खोज्दै जनता

ठुला दलमाथि चुनौति

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका उम्मेदवार वालेन्द्र (वालेन) साहले नेपाली राजनीतिमा स्थापित दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चुनौति दिँदै मत गणनामा अग्रता लिइरहेका छन् ।
इन्जिनियर वालेको नाम राजनीति क्षेत्रमा खासै सुनिएको थिएन । यसअघि गीत/संगीत क्षेत्रमा छाए पनि उनी सर्वसाधारणमाझ खासै चर्चित थिएनन् । युवा वर्गमा भने छुट्टै उनको चर्चा थियो । तर, उनको पक्षमा ओइरिएको मतले यतिबेला वालेन चर्चाको शिखरमा छन् ।

मतगणना गर्न बसेका निर्वाचन अयोग र दलका प्रतिनिधिसमेत उनको पक्षमा आएको मतले भmस्किएका छन् । मतपत्रमा अन्य पदमा दलगत भोट गए पनि मेयर पदमा भने वालेन छुटेका छैनन् । ठूला दलका युवा नेताहरुले नै वालेनको उम्मेदवारी र उनले पाएको मतलाई विश्लेषण गर्दै आफ्ना दलले बेलैमा सोच्नुपर्ने अवस्था आएको बताउन थालेका छन् ।

पहिला स्वतन्त्रबाट उपमेयर उठ्ने घोषणा गरेकी सुनिता डंगोल पनि अहिले चर्चाको शिखरमा छिन् । उनले एमाले, कांग्रेस र राप्रपाबाटै पनि मत प्राप्त गरेकी छन् । पूर्वमिस नेवासमेत रहेकी डंगोलले अन्तिम समयमा आएर एमालेबाट उम्मेदवारी दिए पनि उनको पक्षमा धेरैको मत पारेको देखिन्छ ।

डंगोलले मेयर साहको भन्दा पनि धेरै मत पाएकी छन् । उपमेयरकै उम्मेदवारहरु नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, राप्रपाकी बिनिता मगैया डंगोलभन्दा निकै पछाडि रहेका छन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा छन् । कांग्रेसबाट मेयर पदमा उम्मेदवार बनेकी सिर्जन सिंह दोस्रो स्थानमा उक्लिएकी छन् ।

काठमाडौं महानगरमा यसअघि मेयरको भूमिका निर्वाह गरिसकेका स्थापित बागमति प्रदेशको मन्त्री पनि भइसकेका चर्चित ब्यक्तित्व हुन् । सिंह पनि जनआन्दोलनका कमाण्डर स्वं गणेशमान सिंहकी बुहारी र कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । तर, यी दुबै ‘हेभी वेट’ प्रतिद्वन्द्वीलाई वालेनले निकै पछाडि छाडेका छन् ।
काठमाडौंको मतगणना उत्तरार्धतिर लागिरहँदा वालेनले करिब ४२ हजार मत प्राप्त गरेका छन् । स्थापितले र सिंहले पनि २४ हजार मत प्राप्त गरेका छन् । राजनीतिमा स्थापित दुई चर्चित दलका उम्मेदवारको तुलनामा वालेन १८ हजार मतले अगाडि छन् ।

काठमाडौं महानगर छाडेर धनगढी उपमहानगरको मतगणनातर्फ लागौं । धनगढी उममहानगरमा त स्वतन्त्र उम्मेदवार गोपाल हमालले बाजी नै मारिसकेका छन् । उनले पनि ठुला दल कांग्रेस र एमालेका उम्मेदवारलाई निकै पछाडि छाड्दै मेयर पद जितेका हुन् ।

हमालले २६ हजार ८ सय ६५ मत ल्याए भने उनका निकट्तम प्रतिद्धन्दी एवं कांग्रेसका चर्चित उम्मेदवार नृपबहादुर वडले १४ हजार ८ सय १७ मतमात्र ल्याउन सके । तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याए ।
यसैगरी धरान उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भए । उनले पनि ठुला दलका चर्चित प्रतिद्वन्द्वीलाई पछाडि पार्दै मेयर पद जितेका हुन् । राईले २० हजार ८ सय २१ मत ल्याए । कांग्रेसका किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत ल्याए ।

यसैगरी जनकपुर उपमहानगरको मेयर पदमा पनि स्वतन्त्र उम्मेदवार नै अगाडि छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले एमालेका शिवशंकर साहलाई पछाडि पारेका छन् । उनले ९ हजार १ सय १४ मत प्राप्त गरेका छन् भने एमालेका साहले ७ हजार १ सय ९३ मत पाएका छन् । मधेशका राजनीतिक दलहरु जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत साहका अगाडी कमजोर देखिएका छन् ।

काठमाडौं महानगरका वालेन, धनगढी उपमहानरका हमाल, जनकपुर उपमहानगरका साह र धरान उपमहानगरका राईले पाएको मतले यतिबेला दशकौंदेखि राजनीतमा सक्रिय दलहरुका लागि ठूलै चुनौति थपेको छ । यसका अतिरिक्त हालसम्म देशभर स्वतन्त्र उम्मेदवारले थप ९ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पदमा पनि जित हासिल गरेका छन् ।

क्षेत्रफल र जनसँख्याका आधारमा अन्य पालिकाभन्दा ठुलो महानगर र उपमहानगरमा स्वतन्त्र उम्मेदवारले पाएको अप्रत्यासित मतलाई हेर्दा सर्वसाधारण मतदाताले देशमा परिवर्तन चाहेको स्पष्ट देखिन्छ । राजनीतिक दलहरुप्रति जनताले देखाएको असन्तुष्टि पनि हो, यो ।


दशकौंदेखि नेपाली राजनीतिमा स्थापित दलहरुले जनताको भावना र चाहना अनुसार काम गर्न नसकेकाले नै सर्वसाधारण मतदाताले परिवर्तन खोजेका हुन् । विशेषगरि शक्ति केन्द्र, शिक्षीत वर्गको बसोबास र धेरै राजश्व उठ्ने महानगर र उपमहानगरमा सबै दलको आँखा लाग्दालाग्दै स्वतन्त्र उम्मेदवारले आफ्नो वर्चस्व जमाउनु दलहरुप्रति ब्यक्त गरिएको निराशा नै हो ।

अघिल्ला चुनावको तुलनामा यसपटक चुनावी प्रचारको शैलीमा पनि ठुलै परिवर्तन देखियो । यसपटक समाजिक सञ्जालहरुमा चुनाव प्रचार बढी केन्द्रीत रह्यो । घरघरमा पढेलेखेका उम्मेदवारले पनि आफ्ना अभिभावकलाई मत हाल्ने विषयमा बुझाएको देखियो । चुनावमा धेरै आकांक्षा बाड्ने, लक्ष्य र उद्देश्य ठुलो राख्ने तर, व्यवहार र कार्यशैलीमा रत्तिभर परिवर्तन ल्याउन नचाहने देखेपछि मतदाता स्वभाविक रुपमा दललाई छाडेर स्वतन्त्रको पक्षमा अघि बढेको देखिन्छ ।

यो चुनावमा काठमाडौं महानगरमा केवल ५२ प्रतिशत मत खस्यो । देशभरको आँकडा हेर्दा जम्मा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई छ । देशभरका सात सय ५३ स्थानीय तहका १० हजार सात सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्रमा मतदानको प्रतिशत अपेक्षित रहेन । यो पनि मतदाताले दलहरुप्रति देखाएको उपेक्षा नै हो । आफुले चाहेजस्तो उम्मेदवार नपाएपछि थुप्रै मतदाता मतदान गर्न नै गएनन् ।


सर्वसाधरणले परिवर्तन चाहेको देखियो : प्रा. डा. गोविन्दमानसिंह कार्की

काठमाडौं र केही जिल्लामा बाहेक स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु कुनै न कुनै दलसँग आवद्ध देखिन्छन् । काठमाडौंको स्वतन्त्र उम्मेदवार कुनै पनि राजनीतिक दलसँग आवद्ध देखिँदैनन् । यद्यपी एउटा ट्रेन्ड के देखियो भने, मेचीदेखि महाकालीसम्मका सर्वसाधरण अहिलेका राजनीतिक दलका गतिविधिबाट सन्तुष्ट छैनन् ।

प्रा. डा. गोविन्दमानसिंह कार्की

आजसम्म भएका चुनावमध्ये यो चुनावमा अधिकतम स्वतन्त्र मान्छेहरुलाई देशले मात्रै होइन, विदेशमा बसेकाले पनि रुचाएको देखिन्छ । महानगरा, उपमहानगर, नगरपालिका र गाउँपालिकासम्मकै उम्मेदवारलाई हेर्दा मतदाताले दलभन्दा पनि काम र व्यक्ति हेरेर मत दिएको देखिन्छ । नेपाली नागरिकमा राजनीतिक चेतना धेरै माथि रहेछ भन्ने कुरा यो चुनावले पुष्टी गरेको छ । राजनीतिक पार्टीले उम्ेदवारी दिएका मान्छेहरु कोही पैसा, कोही स्वार्थले र कोही नेताको पछाडि दौडिएर टिकट पाएको देखिन्छ । त्यसतर्फ मतदाता सचेत भएको देखिन्छ ।

राजनीतिक दलहरुले जसलाई टिकट दिनुपर्थ्यो, उसलाई नदिएर बोलवाला र आफु निकटलाई दिएपछि पनि मतदातामा दलप्रति वितिष्णा उत्पन्न भएको देखिन्छ । पहिला पार्टीलाई एकछत्र मत जान्थ्यो तर, यसपटक गएन । काठमाडौंकै कुरा गर्दा अहिले वालेनलाई चेतनशील मतदाताबाटै मत दिएको देखिन्छ ।


काठमाडौंवासीले स्वतः स्फूर्त रुपमा मत दिएका हुन् । त्यहाँ दलले उठाएका उम्मेदवारमा पहिल्यै विवादित र परिवारवाद देखेपछि काठमाडौंवासीले परिवर्तन खोजेको पुष्टी हुन्छ । यो दृश्यले के देखिन्छ भने सर्वसाधरणले दललाई सवक सिकाउन चाहेका छन् । मेरा १० हजार मतदाता छन्, मलाई मत दिएर जिताउँछन् भनेर टिकट पाउने उम्मेदवारहरुले अब झस्किनुपर्ने अवस्था छ ।


पार्टीहरुले निटकका व्यक्ति हेरेर टिकट दिए भने सर्वसाधरणले नयाँपन खोजे । यो चुनावको सबैभन्दा ठुलो पक्ष यहि हो ।
अहिलेको मतदानमा मतदाता र उम्मेदवारमा पनि विद्रोही भावना देखिन्छ । सर्वसाधरणले विकास र समृद्धि चाहेका छन् । तर, दलले जहिल्यै आफ्नो खल्तीका उम्मेदवारलाई टिकट दिने प्रवृत्ति नरोकिएसम्म भावी चुनावमा दलले अझ नसोचेको परिणाम ब्यहोर्नुपर्ने अवस्था आउनसक्छ ।

पार्टीले काम हेरेनन्, व्यक्ति हेरे । तर, सर्वसाधरणले व्यक्ति होइन, काम हेरे । अब खल्तीबाट आफ्ना मान्छेलाई भटाभट टिकट दिने परिपाटीलाई दलले सुधार्नुपर्ने अवस्था छ । अब दलीय सिन्डिकेट तोडिनु पर्छ । सर्वसाधरणले राजनीतिक दललाई पुरै निषेध गर्ने अवस्था पनि छैन, तत्काललाई । तर, दल पनि सुध्रिनु आवश्यक छ ।

प्रतिक्रिया