धनगढी उपमहानगरकाे अन्तिम मतपरिणाम : कुन दलले कति वडा जिते ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । हमालले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा हमाल वडसँग पराजित भएका थिए ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन् । रानाले गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २ हजार ८०९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन । रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढीमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो । १९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११, एमाले ६ र माओवादी केन्द्रले २ वडा जितेको छ । अघिल्लो चुनावमा कांग्रेसले १२, माओवादी केन्द्रले ५ र एमालेले २ वडा जितेको थियो ।

प्रतिक्रिया