कैलालीको १२ पालिकाको नतिजा

चार पालिका जितेर रेशम चौधरीको नागरिक उन्मुक्ति बन्यो पहिलो दल

धनगढी । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहकोको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक परिणाम अनुसार रेशम चौधरीको अगुवाइमा खोलिएको नागरिक उन्मुक्ति पार्टी चार स्थानीय तह जितेर जिल्लाको पहिलो पार्टी बन्न सफल भएको छ ।

केही महिना अगाडि मात्रै दर्ता गरिएको सो पार्टीले सत्तारुढ गठबन्धनलाई पराजित गर्दै टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा जित हासिल गरेको छ । सो पार्टीबाट गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै भजनी नगरपालिका प्रमुखमा केवल चौधरी, टीकापुर नगरपालिका प्रमुखमा रामलाल डगौरा थारु, जोशीपुर गाउँपालिका अध्यक्षमा चित्रबहादुर चौधरी र जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी विजयी भएका छन् ।

त्यसैगरी जिल्लामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ पालिकामा प्रमुख÷अध्यक्ष जितेको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र लम्कीचुहा नगरपालिका जितेको छ । कांग्रेसबाट कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, लम्कीचुहा नगरपालिका प्रमुखमा सुशीला शाही र गोदावरी नगरपालिका प्रमुखमा वीरेन्द्र भट्ट विजयी भएका छन ।

यस अघि धनगढी उपमहानगरपालिकासहित ४ पालिकाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले यसपटक उपमहानगरपालिका गुमाउनु परेको छ । उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भइसकेका छन् । उनको जीतलाई निर्वाचन आयोगले औपचारिक घोषणा गर्न मात्रै बाँकी छ ।

त्यसैगरी ०७४ को स्थानीय तहको निर्वाचनमा ७ पालिका प्रमुख÷उपप्रमुख जितेको नेकपा एमाले २ पालिकामा सिमित भएको छ । एमालेले चुरे र बर्दगोरिया गाउँपालिका अध्यक्ष जितेको छ । चुरे गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर बोगटी र बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर कुँवर विजयी भएका छन् ।

त्यसैगरी नेकपा (माआवादी केन्द्र)ले दुई पालिकामा जित हासिल गरेको छ । केन्द्रले मोहन्याल गाउँपालिका र गौरीगंगा नगरपालिका जितेको छ । मोहन्याल गाउँपालिकाको अध्यक्षमा देवीदत्त उपाध्याय र गौरीगंगा नगरपालिकाको प्रमुखमा देवीदत्त कँडेल निर्वाचित भएका छन् । ०७४ मा माओवादी केन्द्रले २ पालिका जितेको थियो । त्यसैगरी एक पालिका जितेको नेकपा (एकीकृत समाजवादी)बाट घोडाघोडी नगरपालिकाको प्रमुखमा खडक रावत विजयी भएका छन् ।

प्रतिक्रिया