अस्पताल आइतबार पनि खुल्ने

काठमाडौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि सेवा दिने निर्णय गरेका हुन् ।

यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ । सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताए । ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौँ’, उनले भने, ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरंग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।’

यसैगरी गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ । उक्त केन्द्रमा दैनिक ६ सय बिरामी उपचारका लागि आउने गर्दछन् ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए । उनले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने बताए ।

त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब २ हजार ५ सय बिरामी उपचारका लागि आउने गर्दछन् । निजामती कर्मचारी अस्पतालमा भने दैनिक १ हजार मानिस नियमित उपचारका लागि आउने गर्दछन् । पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिए । उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए । ‘अत्यावश्यक सेवामुलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका विरामी फर्कनु राम्रो होइन’, उनले भने । उनका अनुसार अस्पतालमा दैनिक १ सय ५० बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया