सुदूरपश्चिमका ७८ पालिकाको नतिजा सार्वजनिक

कांग्रेस ३५, एमाले २३, माओवादी केन्द्र १४ पालिका प्रमुखमा विजयी

धनगढी । सुदूरपश्चि प्रदेशमा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । शुक्रबारसम्म प्रदेशमा रहेका नौ जिल्लाका ८८ वटा स्थानीय तहमध्ये ७८ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको नतिजाअनुसार नेपाली कांग्रेसले ३५, नेकपा एमालेले २३, नेकपा माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेकपा एकीकृत समाजवादीले दुई र एक स्वतन्त्रले प्रमुख पद जितेका छन् । नेपाली कांग्रेस डडेल्धुरा जिल्लाका पाँच स्थानीय तहमा प्रमुख जितेको छ । कांग्रेसबाट डडेलधुरा गन्यापधुरा गाउँपालिका अध्यक्षमा ईन्द्रबहादुर कार्की, नवदुर्गा गाउँपालिका अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी, भागेश्वर गाउँपालिका अध्यक्षमा हेमराज चटौत, अमरगढी नगरपालिका प्रमुखमा डिल्लीराज जोशी र परशुराम नगरपालिका प्रमुखमा भरत बडायर जोशी विजय भएका छन् ।

कांग्रेसले डोटीका सात पालिकामा प्रमुख जितेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका प्रमुखमा बाजी सिं खड्का, शिखर नगरपालिका प्रमुखमा दीर्घबहादुर बलायर, आदर्श गाउँपालिका अध्यक्षमा गणेशवहादुर खड्का, केआइसिं गाउँपालिका अध्यक्षमा लोकेन्द्रबहादुर शाही, पूर्वीचौकी गाउँपालिका अध्यक्षमा रामप्रसाद उपाध्याय, बडीकेदार गाउँपालिका अध्यक्षमा भैरवबहादुर साउँद र सायल गाउँपालिका अध्यक्षमा धर्मराज जोशी विजयी भएका छन् ।

त्यसैगरी कांग्रेसले बझाङमा ६ पालिका प्रमुख जितेको छ । बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा उत्तमबहादुर रोकाया, मष्टा गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा, वित्थडचिर गाउँपालिका अध्यक्षमा अम्मरसिंह महर, सूर्मा गाउँपालिकामा अध्यक्ष खडकबहादुर बोहरा, जयपृथ्वी नगरपालिका प्रमुखमा चेतराज बजाल र बुंगल नगरपालिका प्रमुखमा जयबहादुर धामी विजयी भएका छन् । बाजुराका तीन पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ । बाजुराको त्रिवेणी नगरपालिका प्रमुखमा कर्णबहादुर थापा, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्षमा भरतबहादुर रोकाया र हिमाली गाउँपालिका अध्यक्षमा गोबिन्दबहादुर मल्ल विजयी भएका छन् ।

त्यसैगरी बैतडीका चार पालिकामा कांग्रेसले प्रमुख जितेको छ । बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कर्ण सिंह साउद, सिगास गाउँपालिका अध्यक्षमा हरिसिंह धामी, पाटन नगरपालिका प्रमुखमा गौरी सिंह रावल र पुर्चौडी नगरपालिका प्रमुखमा दीपकबहादुर निर्वाचित भएका छन् । कञ्चनपुरका दुई पालिका प्रमुखमा नेपाली कांग्रेबाट वेदकोट नगरपालिका प्रमुखमा भोजराज बोहरा र बेलडाडी गाउँपालिका अध्यक्षमा हरिश चन्द्र विजयी भएका छन् ।

त्यस्तै कैलालीका दुई पालिका प्रमुखमा कांग्रेसबाट कैलारी गाउँपालिका अध्यक्षमा राजसमझ चौधरी र गोदावरी नगरपालिका प्रमुखमा वीरेन्द्र भट्ट निर्वाचित भएका छन् । त्यसैगरी कांग्रेसले अछामका ६ पालिका प्रमुख जितेको छ । अछामको कमलबजार नगरपालिका प्रमुखमा यज्ञप्रसाद ढकाल, पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिकाकुमारी चलाउने, चौरपाटी गाउँपालिका अध्यक्षमा भीमबहादुर साउद, ढकारी गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा टेकबहादुर साउद र रामारोशन गाउँपालिका अध्यक्षमा मानबहादुर साउद कांग्रेसबाट विजयी भएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थानमा रहेका नेकपा एमालेबाट डोटीको जोरायल गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझाले विजय हासिल गरेका छन् । एमालेले दार्चुलामा पाँच पालिकामा प्रमुख जितेको छ । दार्चुलाको दुहुँ गाउँपालिका अध्यक्षमा नरेन्द्रबहादुर सिंह बडाल, व्यास गाउँपालिका अध्यक्षमा मंगलसिंह धामी, महाकाली नगरपालिका प्रमुखमा नरसिंह चैंसिर, शैल्यशिखर नगरपालिका प्रमुखमा विजयसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्षमा हिरासिंह धामी एमालेबाट विजयी भएका छन् ।

बझाङका तीन पालिका प्रमुखमा एमालेबाट साइपाल गाउँपालिका अध्यक्षमा मानवीर बोहरा, तलकोट गाउँपालिका अध्यक्षमा कलकबहादुर रोकाया र थलारा गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर रोकाया विजयी भएका छन् । त्यसैगरी बाजुराका चार पालिका प्रमुखमा एमालेबाट बडीमालिका नगरपालिका प्रमुखमा अमरबहादुर खड्का, गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दीलबहादुर रावत र जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही निर्वाचित भएका छन् ।

बैतडीका चार पालिका प्रमुखमा एमालेबाट दोगडाकेदार गाउँपालिका अध्यक्षमा चक्रबहादुर कार्की, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा गोरखबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा अम्मरबहादुर कुँवर र दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी विजयी भएका छन् । यस्तै कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका प्रमुखमा किशोरकुमार लिम्वु र लालझाँडी गाउँपालिका अध्यक्षमा निर्मल राना, कैलालीको चुरे गाउँपालिका अध्यक्षमा चक्रबहादुर बोगटी र बर्दगोरीया गाउँपालिका अध्यक्षमा कर्णवहादुर कुँवर,अछामको मंगलसेन नगरपालिका प्रमुखमा पदमबहादुर बोहरा र तुर्माखाँद गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बिसी एमालेबाट विजयी भएका छन् ।

त्यसैगरी प्रदेशमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रबाट डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट र आलिताल गाउँपालिका अध्यक्षमा शेरसिंह पार्की, डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा कमलबहादुर गडसिला विजयी भएका छन् । दार्चुलाका चार पालिका प्रमुख जितेको माओवादी केन्द्रबाट अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे (बोहरा), नौगाड गाउँपालिका अध्यक्षमा दलजीत सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र लेकम गाउँपालिका अध्यक्षमा रामदत्त जोशी निर्वाचित भएका छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका अध्यक्षमा बसन्तबहादुर चलाउने र दुर्गाथली गाउँपालिका अध्यक्षमा दिलबहादुर थापा, बैतडीको मेलौली नगरपालिका प्रमुखमा भीमबहादुर चन्द, कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा पोतीलाल चौधरी, कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा देवीदत्त उपाध्याय, गौरीगंगा नगरपालिकाको प्रमुखमा देवीदत्त कँडेल र अछामको मेल्लेख गाउँपालिका अध्यक्षमा ज्वालासिंह साउद माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन पालिका प्रमुख जितेको छ । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्षमा चित्रबहादुर चौधरी, टीकापुर नगरपालिका प्रमुखमा रामलाल डगौरा थारू र भजनी नगरपालिका प्रमुख केबल चौधरी विजयी भएका छन् भने जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी जित नजिक छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट दुई पालिका प्रमुखमा कैलाली घोडाघोडी नगरपालिका प्रमुख खडकबहादुर रावत र बझाङ केदारस्युँ गाउँपालिका अध्यक्षमा गणेशबहादुर बोहरा विजयी भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

प्रतिक्रिया