काठमाडौं । स्थानीय तह चुनावमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै दार्चुलाका जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका छन् । २०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसका तर्फबाट दुँहु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका कार्की यसपाली गठबन्धनको साँझा उम्मेदवारका रुपमा पुनः चुनावी मैदानमा ओर्लिएका थिए । उनी नेकपा (एमाले) का नरेन्द्र बडालसँग पराजित भएका हुन् ।
कार्कीले आफ्नो पालिका र समग्र जिल्लामा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको, सचिवका हैसियतमा खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको अनुभूति भएकाले राजीनामा दिएको बताएका छन् । यसपटक दार्चुलामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । आफ्नो भागमा परेका ५ पालिकाको नेतृत्व कांग्रेसले पाएन। माओवादीले भने ४ पालिका प्रमुखमा जित निकालेको छ । एमालेले अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका ५ पालिकामा बाजी मारेको छ ।
प्रतिक्रिया