धरान उपमहानगरमा आन्दोलन, सेना परिचालनपछि मतगणना शुरू

सुनसरी । धरान उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) को आन्दोलन जारी रहे पनि कडा सुरक्षाबीच मतगणना शुरू भएको छ । मतगणना स्थलमा प्रहरीसँग नेपाली सेना पनि परिचालन गरिएको छ । विवादमा परेको वडा नं. २० को विषयमा सहमति गर्ने जिम्मा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ ।

माओवादी कार्यकर्ताले भने पुनः मतदान हुनुपर्ने र लापरवाही गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता पनि धरान-२० को मत परिणाम घोषणा गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

धरान-२० मा १८ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद भएको थियो। त्यसमध्ये १३ वटा मतपत्रमा माओवादीका उम्‍मेदवारलाई मत दिइएको माओवादीको दाबी छ ।

यो वडामा माओवादीका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग चार मतले पराजित भएपछि माओवादी कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् । विवाद उत्पन्न भएपछि मत परिणाम भने घोषणा गरिएको छैन । अहिले धरान उपमहानगरपालिका वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया