ओखलढुंगामा स्थानीय चुनाव सकियो, जिसस गठन गर्न कांग्रेसलाई सकस

ओखलढुंगा । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा ओखलढुंगामा कांग्रेसलाई मिश्रित सफलता हात परेको छ । जिल्लाको कुल ३ सय ९१ पदमध्ये २ सय २२ पदमा कांग्रेस विजयी भएको छ ।

दोस्रो स्थानमा एमाले छ । एमालेबाट १ सय २२ जना जनप्रतिनिधि विजयी भएका छन् । यस्तै माओवादी केन्द्रबाट ३० जना, जनता समाजवादी पार्टीबाट १६ जना र १ जना स्वतन्त्रबाट विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार जिल्लामा ४ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तह उपप्रमुख कांग्रेसको पोल्टामा पुगेको छ । स्वतन्त्रबाट मानेभञ्ज्याङ गाउँपालिकाका कांग्रेस नेता ज्ञानेन्द्र रुम्दाली कांग्रेससँगकै गठबन्धनबाट प्रमुख पदमा विजयी भएका हुन् । स्वतन्त्र समेत जोड्दा ५ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएको मान्न सकिन्छ ।

यस्तै एमालेले १ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख, नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा प्रमुख र जनता समाजवादी पार्टीले १ स्थानीय तहमा प्रमुख पदमा विजयी भएका छन् ।

ओखलढुंगामा २०७४ सालको स्थानीय निर्वाचनमा ४ स्थानीय तहमा प्रमुख र र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमै उपप्रमुख जितेको थियो । त्यस्तै माओवादी केन्द्रले एउटा स्थानीय तहमा प्रमुख जितेको थियो ।

यस भन्दा अघि जस्तो नेपाली कांग्रेसलाई एकलौटी जिल्ला समन्वय समिति गठन गर्न कठिन हुने भएको छ। प्रमुख र उप्रमुख सहित एमालेसंग छ भोट रहेका छन् । त्यसैगरी जनता समाजवादी १ र स्वतन्त्र १ गर्दा कांग्रेसको विपक्षमा ८ मत हुन आँउछ। आठ स्थानीय निकाय भएको यस जिल्लामा जिल्ला समन्वय समिति बनाउन नौ मतको आवश्यकता पर्छ ।

प्रतिक्रिया