कान्समा सुरक्षा

काठमाडौं । फ्रान्समा हुन गइरहेको कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्तले सहभागिता जनाउने भएकी छन् । उनले सामाजिक सञ्जालमा आफूले अभिनय गरेको बेल्जियन चलचित्र कान्सको मुख्य प्रतिस्पर्धामा छनोट भएको जनाएकी छन् । उनका अनुसार चलचित्र ‘दि एट माउन्टेन्स’ को बुधबार कान्समा प्रिमियर हुँदैछ । उक्त चलचित्रमा उनको अभिनय रहेको छ । ७५औँ संस्करणको यो फेस्टिभलमा अभिनेत्री सुरक्षा रेड कार्पेटमा सहभागी हुनेछन् । फ्रान्स जानुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदैछु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ, त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ ।’ फेस्टिभलमा सहभागी हुन उनी मंगलबार कान्स प्रस्थान गरिन् ।

मनाङमा केही अंश छायांकन गरिएको यो चलचित्रमा अभिनेत्री सुरक्षाको अभिनय रहेको छ । यस्तै, यस पटक नेपालबाट लघुचलचित्र ‘लोरी’ को टिमसमेत कान्समा सहभागी हुँदैछ । नेपालबाट पहिलो पटक ‘लोरी’ मुख्य प्रतिस्पर्धामा अफिसियल्ली छनोट भएको चलचित्र हो । अविनाशविक्रम शाहले निर्देशन गरेको यो चलचित्रले १ सय ४० देशका ३५ सय बढी चलचित्रबाट उत्कृष्ट ९ मा पर्न सफल भएको हो । नेपालले अब चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ ले २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै लघुचलचित्र विधातर्फ समेत उत्कृष्ट हुने चलचित्रलाई पाम डी अर प्रदान गरिन्छ । यस्तै, नेपालबाट कान्समा ‘एक मुठ्ठी बादल’ को निर्माता÷निर्देशक समेत सहभागी हुन फ्रान्स पुगेका छन् । सहारा शर्मा लिखित तथा निर्देशित यो चलचित्रले भारतको चलचित्र बजारमा उत्कृष्ट हुँदै कान्समा पिचिङको मौका पाएको हो । त्यस्तै, यसले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा पनि सहभागी हुने मौका पाएको थियो । कान्समा सहभागी हुन सहारा शर्मा अमेरिकाको न्युयोर्कबाट कान्स पुगिसकेकी छन् । नेपालबाट निर्माता अभिमन्यू दीक्षित पनि कान्समा गएको चलचित्र निर्माता ऋचा शर्माले जानकारी गराएकी छन् ।

प्रतिक्रिया