
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । त्यस ठाउँमा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो ।
नगरपालिका भित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।
यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएको सल्यान निवासी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव कृष्ण रेउलेले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेको रेउलेले बताए ।
यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । ६ वटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् ।
दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर, वनगाड कुपिण्डे नगरपालिकासहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम रहेको छ ।
प्रतिक्रिया