६ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो एकदिने नेपाल भ्रमणपछि सोमबार नै स्वदेश फर्किएका छन् । २५६६औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी यसपटक नेपालको संघीय राजधानी काठमाडौं आएनन् ।
सोमबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी आएका मोदी उतैबाट भारत प्रस्थान गरे । आफ्नो छोटो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग लुम्बिनीमै भेटघाट गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेका थिए ।
लुम्बिनी भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आपूmलाई नेपाल भ्रमणमा आउँदा राजनीतिकभन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताए । उनले नेपालबाट आपूmले अध्यात्मिक आशीर्वाद पाउने गरेको धारणा पनि व्यक्त गरे ।
भारतीय प्रधानमन्त्रीले लुम्बिनीमा आयोजित बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै नेपाल र भारतबीचको सम्बन्ध हिमालजस्तै अटल रहेको प्रतिक्रिया पनि दिए । दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै मोदीले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन् । आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुसी छ भन्ने मलाई विश्वास छ ।’
उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैको भएको धारणा पनि व्यक्त गरे । कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको सन्देशले सारा विश्वलाई शान्त र समृद्ध बनाउने धारणा पनि व्यक्त गरे ।
लुम्बिनी भ्रमणका क्रममा उनले मायादेवी मन्दिरमा प्रार्थना पनि गरे । ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्, ‘भगवान् बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’
मोदी सोमबार बिहान भारतीय वायु सेनाको हेलिकोप्टरमा लुम्बिनी आएका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमणका क्रममा करिब ६ घण्टा बिताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीको एकदिने भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता पनि भएको छ । भारतको विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै दुई देशबीच ६ बुँदे सम्झौता भएको जनाएको छ । बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ ।
यसैगरी आइसिसिआर र नेपाल तथा एसियाली अध्ययन केन्द्र र त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आइसिसिआर चेयर स्थापना गर्ने सम्झौता पनि भएको छ । आइसिसिआर र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आइसिसिआर चेयर स्थापना गर्ने सम्झौता भएको छ ।
यसैगरी केयू र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटिएम) बीच सहयोगको सम्झौता पनि भएको छ । केयू र आइआइटिएमबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने तथा अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनइए)बीच पनि सम्झौता भएको छ ।

प्रतिक्रिया