पर्वतको सातै स्थानीय तहमा मतगणना सुरु

पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । दुईवटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको पर्वतमा ६१ वडा रहेका छन् ।

जिल्लाकै महत्त्वपूर्ण रूपमा हेरिएको कुश्मा नगरपालिको मतगणना २ः३७ बाट सुरु गरिएको छ । वडा नम्बर १ पाङ र १४ नम्बर वडा आर्थरडाँडाखर्कको मत बक्सबाट मत खसालेर गन्न सुरु गरिएको छ । यहाँको मत परिणाम अहिले आइसकेको छैन ।

त्यस्तै अर्को नगरपालिका फलेवसमा पनि मतगणना सुरु गरिएको छ । भर्खर मात्रै गणना गरिएको हुँदा यहाँको मत परिणाम पनि बाहिर आएको छैन । अहिले वडा नं. १ कार्किनेटा र वडा नंं. ११ पाङराङको मतगणना गर्ने काम भइरहेको छ ।

जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा भने गए राती देखिनै मतगणना सुरु भएको थियो । पछिल्लो परिणाम अनुसार जलजलामा नेकपा एमालेको अग्रता कायमै रहेको छ भने पैंयु गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरीको अग्रता रहेको छ ।

उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाको अग्रता रहेको छ ।पैयुं गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट मिनप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

विहादी गाउँपालिमा वडा नं. १ बाच्छाको पनि मतगणना भइरहेको छ । त्यसै गरी मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेको मतगणना केही बेर अघिदेखि सुरु भएको छ । महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हा ।

अहिलेसम्म जलजला गाउँपालिका वडा नं। १ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ । यहाँ नेकपा एमालेका जगबहादुर रोका वडा अध्यक्षमा विजयी भएका छन् । एक जना गठबन्धन दलको सदस्य बाहेक सबै पदमा एमाले विजयी भएका छन् ।

हिजो भएको मतदानमा पर्वतबाट ६५ दशमलव ३८ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया