माङसेबुङ– ५ मा गठबन्धनबाट जनमुक्तिको प्यानल नै विजयी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन् । मतगणना भइसक्न बाँकी रहँदा नै अध्यक्षमा राईसहितको प्यानल नै विजयी भएको हो ।

१ हजार २ सय ३३ मत खसेको सो वडाको हालसम्म १ हजार मतगणना भइसकेको छ । २ सय ३३ मत गन्न बाँकी रहँदा नै राईको प्यानलले सोभन्दा बढी मतान्तरले अग्रता लिएसँगै राईको प्यानल विजयी निश्चित बनेको हो ।

मतगणना भने जारी छ । १ हजार मतगणना गर्दा गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार राईले ६ सय ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सुबदल सेलिङले १ सय ८९ मत मात्र प्राप्त गरेका छन् ।

दलित महिला सदस्यमा गठबन्धनकै गंगामाया विश्वकर्मा ६ सय ८७ मतका साथ विजयी बनेकी छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार अमृता सेन्चुरीले २ सय ५१ मत पाएकी छन् ।

सदस्यहरुमा गठबन्धनकै वीरबहादुर कुरुम्बाङ ६ सय ५१ र सुरेन्द्र तुम्बाहाम्फे ५ सय ८० मतका साथ विजयी भएका छन् । प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार अभिषेक राईले १ सय ५६ र रनध्वज सम्बाहाम्फे १ ले ८८ मत मात्र पाएका छन् । सो वडाबाट अध्यक्ष र उपाध्यक्ष पदमा समेत गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् ।

अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ६ सय ३९ र नेकपा एमालेका हेमन्त राईले १ सय ५५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनमा जनता समाजवादी पार्टीक विनोद नेम्बाङले ५ सय ८६ र एमालेकी सुनिता सुब्बाले १ सय ८० मत मात्र पाएकी छन् ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेदवारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर, कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

माङसेबुङ– ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धनबाट राईले उम्मेदवार थिए । एमालेले भने वडामा कुनैपनि पदमा उम्मेदवारी दिएका थिएनन् । स्वतन्त्र उम्मेदवार भने चुनावी मैदानमा थिए ।

प्रतिक्रिया