११ लाखले उपत्यका छाडे

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आफ्नो मत जाहेर गर्न करिब ११ लाख मतदाता(यात्रु) ले उपत्यका छाडेका छन् । शुक्रबार बिहानदेखि स्थानीय तहको निर्वाचन देशैभर हुँदैछ । ठूलो संख्यामा मतदाता घर फर्केका कारण उपत्यका सुनसान बनेको छ ।
निर्वाचनमा आफ्नो मत खसाल्न उपत्यका र आसपासका क्षेत्रमा अस्थायी वसोवास गर्दैआएका मतदाताहरुले बिहिबार साँझसम्म यो संख्याको हाराहारीमा उपत्यका छाडेका छन् ।

उनीहरुमध्ये कतिपय आफैले टिकट खरिद गरि घर फर्केका छन् भने कतिपय प्रमुख राजनीतिक दलले व्यवस्थापन गरे बस चढेर घर पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्लो ४ दिनमा ११ लाखको हाराहारीमा मतदाता आफ्नो गृहजिल्ला फर्केका छन् । नागढुङ्गा, धुलिखेल, वालाजु वाइपासलगायतका नाकाबाट प्रति दिन ६० हजारदेखि २ लाखसम्मको संख्यामा घर फकिएका छन् । बुधबार मात्रै २ लाखको हाराहारी मतदाताले उपत्यका छाडेको उनको भनाई छ ।

महासंघका अनुसार विभिन्न राजनीतिक दलहरुले पनि मतदाताहरुलाई घर फर्काउनका लागि करिब ३५ प्रतिशत सवारी साधन(सानोदेखि ठूलोसम्म) अग्रिम बुकिङ्ग गरेका थिए । दल निकटका प्रतिनिधीहरुले कोटेश्वर, जडिबुटी, नयाँ वसपार्क, कलंकी, चावहिल, गौशालालगायतका स्थानबाट मतदातालाई चढाएर घर फर्काएका छन् । बिहिबार मध्य रातिबाट सवारी साधन सञ्चालन गर्न नपाइने भएकाले उपत्यका आसपासका नुवाकोट, सिन्धुपालचोक, रामेछाप, धादिङ, दोलखा, मकवानपुर, चितवनलगायतका मतदाताहरु हिजो साँझ नै उपत्यका छाडेका छन् ।

ट्राफिक प्रहरी महाशाखाकाअनुसार पछिल्लो ४ दिनको अवधीमा औषत दैनिक ६० हजारभन्दा बढी संख्यामा मतदाताले उपत्यका छाडेका छन् । बुधबार दिनभरमा मात्रै करिब ८१ हजारले उपत्यका छाडेका थिए । सामान्य दिनमा ४० देखि ४१ हजारको हाराहारीमा सर्वसाधारण बाहिरिन्छन् ।

प्रतिक्रिया