काठमाडौं । आज हुने स्थानीय तह निर्वाचनमा मृत्य भएका ९ उम्मेदवारको निर्वाचन स्थानमा आज मतदान नहुने भएको छ । उम्मेदवारको मृत्यु भएमा निर्वाचन स्थगित हुने प्रावधानअनुसार निर्वाचन आयोगले ती क्षेत्रमा निर्वाचन कार्यतालिका पनि हेरफेर गरेको छ ।
आयोगका अनुसार वैशाख १४ गते नेपाली कांग्रेसको तर्फबाट सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ की दलित महिला सदस्य पदकी उम्मदेवार मडुवादेवी चमारको मृत्यु भएको थियो । हाल त्यो क्षेत्रमा निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।
वैशाख १६ गते जनता समाजवादी पार्टीकी महिला सदस्य पदकी उम्मेदवार रौतहट वृन्दावन नगरपालिका– ५ की मीना देवीको मृत्यु भएको थियो । त्यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । मोरङको केराबारी गाउँपालिकाको वडा नम्बर २ को वडा सदस्य पदको उम्मेदवार नेपाली कांग्रेसका नवीन लिम्बूको पनि १६ गते नै मृत्यु भएको थियो। सोही दिन कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ८ का वडाध्यक्षका उम्मेदवार नेकपा एमालेका ओमप्रकाश तिवारीको मृत्यु भएको थियो ।
१७ गते रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ की दलित महिला सदस्य एमालेकी कुसुमी पासिनको मृत्यु भएको थियो । वैशाख २३ गते कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्र चौधरी थारुको मृत्यु भयो । सिरहाको सिरहा नगरपालिका– ५ की वडा सदस्य पदकी उम्मेदवार एमालेकी मुना सेखको पनि २३ गते नै मृत्यु भएको थियो । यी सबै स्थानमा निर्वाचन कार्यक्रम संशोधन गरिएको आयोगले जनाएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको २७ गते मृत्यु भयो । उनी कांग्रेसबाट उम्मेदवार थिइन् । २७ गते नै दाङको तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार एमालेका लभरु चौधरीको मृत्यु भएको थियो । यी दुई स्थानमा पनि नयाँ निर्वाचन कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया