विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचनअघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनले निर्वाचनलक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएकोसमेत जानकारी दिए । निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सुरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीन वटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जसमा नेपाल प्रहरीका १ हजार ९ सय ७२, सशस्त्र प्रहरीका ६ सय ८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी ३ हजार १ ुउ २४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ । जिल्लामा तीन सय मतदानस्थल तथा आठ सय मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजनाअन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकोप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।
यसैगरी, सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १२ बजेदेखि ३० वैशाख राती १२ बजेसम्म नेपाल–भारत सीमा बन्द रहने सूचना जारी गरेको छ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रजिअ दाहालले एक सूचनामार्फत जानकारी दिएका छन् ।
दाहालका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न नाकामा दिए पनि ३० गते नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।
यसैगरी, सोही सन्दर्भमा जिल्लामा मादकपदार्थ बिक्री वितरण एवं सेवन निषेध गएिको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो । मंगलबार राती १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लिखित क्रियाकलाप नगरी, आदेशको पालना गरी सहयोग गर्न हुन सबैलाई अपिल गरिएको छ । यो आदेश बर्खिलाप भएको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रजिअ दाहालले सूचनामार्फत जानकारी दिएका छन् ।
मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कुल ४ हजार ३ सय ४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९ सय ६२, सदस्यमा १ हजार ६ सय ४०, महिला सदस्यमा ७ सय ७० र दलित महिला सदस्यमा ७ सय २२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङमा दर्ता भएका कुल राजनीतिक दलको संख्या ३९ छन् । तर, उम्मेदवारी फिर्ता लगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कुल मतदाता संख्या ७ लाख १५ हजार २ सय २३ रहेको छ ।
प्रतिक्रिया