
पाल्पा । रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुगे । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य छन् । आफ्नो जीवनकालमा उनले धेरैपटक मतदान गर्नुभयो । उनका समस्याको पहिलो प्राथमिकता नै खानेपानी हो । तर, अहिलेसम्म सो समस्या कायमै छ । राना यसपटकको निर्वाचनमा गाउँमा खानेपानीको प्रबन्ध मिलाइदिने उम्मेदवारको पक्षमा मतदान गर्ने बताउँछन् । उनले धेरैपटक खानेपानीको आशैआशामा मतदान गरे पनि अहिलेसम्म गाउँमा खानेपानीको कुनै व्यवस्था नभएको गुनासो गर्छन् । ‘मेरो बाउबाजेदेखि छोरानातिका पालासम्म पनि पानीकै समस्या भोगिरहेका छौँ, निर्वाचन आउँदैपिच्छे हामी भोट बैंक भएर बस्नुपरेको छ, अझै कति समय गाउँमा पानीको सुविधा कुर्नपर्ने हो थाहा छैन !’ उनले दुःखेसो पोखे ।
गाउँका सामान्य विकास निर्माणमा चासो नदिँदा नागरिकले दुःख पाइरहेको उनी बताउँछन् । उनले व्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर आफ्नो गाउँ, देशको भविष्य बनाउने खालको नेतृत्व आजको आवश्यकता रहेको बताए । उनी भन्छन्, ‘धेरैपटक मतदान गरियो, हाम्रो माग भनेकै खानेपानी हो तर अहिलेसम्म पानीकै समस्यामा हामी जीवन बिताइरहेका छौँ, हाम्रो प्राथमिकता र माग खानेपानी हो, अरू कुरा बिस्तारै हँुदै जानेछ ।’ स्थानीय श्यामकला दमाइँ भने ‘एक घर एक धारा’ गाउँमा आवश्यक रहेको बताउँछिन् । दुई छोरीका आमा उनलाई गाउँमा खानेपानी सुविधा नहँुदा गर्मीयाममा निकै सास्ती भोग्नुपरेको छ । छोरीको स्याहारसुसार, घरायसी धन्दासँगै पानीको जोहो गर्नुपर्दा निकै कष्ठ भएको बताउँछिन् ।
यस गाउँका स्थानीयलाई नुहाउन, कपडा धुनका लागि कालीगण्डकीमा जानुपर्ने बाध्यता छ । गाउँदेखि करिब तीन किलोमिटर पर रहेको भालुखोला खानेपानी योजनाबाट ल्याइएको पानी पर्याप्त छैन । जनघनत्व बढ्दै गएको छ, तर पानीको दीगो व्यवस्थापन नहुँदा दैनिक उपभोग्य पानीको समस्या रहेको बताउँछन् अर्का स्थानीय जय परियार । सिँचाइको अभावमा आफूहरूलाई आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने समस्या भएको उनको भनाइ छ ।
‘गाउँको समस्या भनेको खानेपानी हो, गर्मीमा सानो पाइपबाट ल्याइएको पानी पर्याप्त छैन, मुहानमै पुगेर पानी बोक्नुपर्ने समस्या छ, अब हाम्रो पहिलो समस्या खानेपानीको समाधान हुनुप¥यो’, उनले भने । यहाँका स्थानीयको एउटै माग भनेको तत्काल शुद्ध खानेपानी सुविधा र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था छ ।
भुल्के खानेपानी योजनालाई व्यवस्थित गरी सबैका घरघरमा धारा जडान गरेर पानी वितरण गर्न माग गरे पनि अहिलेसम्म वडा तहबाट यस सम्बन्धमा कुनै काम नभएको नीरबहादुर रानाले बताए । जति पटकका निर्वाचनमा उनले भोट दिए पनि नेताहरूले खानेपानी व्यवस्थापनको आश्वासन मात्रै पाएको बताए । ‘यसअघिका चुनावमा भोट माग्न गाउँ आउने नेतालाई पानीको व्यवस्था गर्न आग्रह गरे पनि आश्वासन मात्रै दिएर जान्छन्’, उनले भने ।
होस्दी गाउँमा मात्रै करिब ५० बढी घरपरिवार छन् । अरू चुनाव जस्तै यो चुनावमा पनि खानेपानीको व्यवस्था गर्ने आश्वासन नेताहरूले दिएको स्थानीय बताउँछन् । गाउँमा खानेपानी नहुँदा विशेष गरेर महिला तथा बालबालिकालाई समस्या हुने गरेको छ । हिउँदको समयमा पानीको मुहान चहार्दै हिँड्नुपर्नेसमेत बाध्यता छ स्थानीयलाई ।
दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माणलगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरूले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाइमा पुगेका छन् । यो चुनावमा पनि नेताहरूले खानेपानी समस्या समाधान गर्ने पुरानै एजेन्डा लिएर गाउँमा पुगेको पाइन्छ ।
राजनीतिक नेतृत्व स्थानीय नागरिकका समस्या समाधान गर्न चुकेकाले उनीहरूप्रतिको विश्वास गुमेको छ । नागरिकको मन जित्न ठूलो काम चाहिँदैन । ससाना कामलाई समेत प्राथमिकता दिनुपर्छ । तब मात्रै राजनीतिप्रति वितृष्णा हट्दै जाने बताइन्छ । मतदाताले उम्मेदवारलाई विगतका वर्षको निर्वाचनलाई सम्झिँदै जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन सुझाव दिएका छन् । निर्वाचन आउँदैपिच्छे झुट्टा आश्वासन बाड्ने त्यस पश्चात् गाउँका सामान्य समस्या सुल्झाउन चासो नदिने प्रवृत्तिप्रति स्थानीयवासी असन्तुष्ट छन् । खानेपानी, सडक, सिँचाइ, स्वास्थ्य, रोजगार जस्ता योजना सबै दलका प्राथमिकतामा पर्छन् । यस्ता समस्या ग्रामीण भेगमा चुनाव केन्द्रित बनेका छन् । होस्दी गाउँका बासिन्दाले भने अझै पनि आधारभूत समस्यामै जीवन गुजारिरहेको पाइन्छ ।
प्रतिक्रिया