सर्वनासभन्दा अर्धनास बेस हुन्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनासभन्दा अर्धनास जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताएका छन् ।

नेपाली कांग्रेसले तनहुँको दमौलीमा शनिवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतै कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हँसिया हथौडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताए ।

उनले भने, ‘त्यो सम्झौता हो, संविधान पनि सम्झौताको दस्ताबेज हो, राजनीति पनि सम्झौताको दस्तावेज हो, सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ, आँट गर्नुपर्छ, हामीले एउटा नगरपालिकामा हँसिया हथौडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन्, कुरा त बुझ्नपर्यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक एक महानगर दिएका छौँ, यो लेनदेन हो, जम्मै हाहेर सर्वनास हुनुभन्दा अर्धनास जाति हुन्छ नी, त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रुपमा प्राप्त गर्छौँ, हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गर्छौँ, र त्यसका निम्ति यो गठबन्धन हो ।’

संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाइन भएको नेता पौडेलले बताए ।

अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्टाचार कमिसनतन्त्रको खेल धेरै भए, जनतामाथि शोषण, राजनीतिमा भ्रष्टाचार घुस्दैछ, त्यसबाट पनि देशलाई मुक्त गर्नु परेको छ,’ उनले भने ।

उनले गठबन्धनलाई प्रगतीशिल शक्तिहरूको एकताको संज्ञा दिए । गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफू तयार रहेको नेता पौडेलले बताए ।

उनले आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गरे । बरु आफ्नो लाइनमा देउवा आएको उनले दाबी गरे ।

प्रतिक्रिया