
काठमाडौं । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका–११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।
यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।
उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका– ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका– १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका– ४ सिन्धुलीका हरिवहादुर बल रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।
प्रतिक्रिया