म्यादी प्रहरी भन्दै सामाजिक सञ्जालमा भाइरल हुने युवक पक्राउ

काठमाडौं । प्रहरीले म्यादी प्रहरी हुँ भन्दै सामाजिक सञ्जालमा भाइरल हुने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँच्चिकै म्यादी प्रहरी नभइ कपिलवस्तुको वाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।

मंगलबार पक्राउ परेका रेग्मीले आफ्ना फुपूको छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको बताइएको छ । प्रहरीले पुरणसँग पनि त्यस पोशाकबारे सोधपुछ गरेको र पुरणले आफू घरमा नभएको समयमा रेग्मीले पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।

रेग्मीले पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युबमा भाइरल भएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी भएको र आफ्नै भाषामा मिदी प्रहरी भएको बताएका छन् ।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे ।

लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । मा कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रतिक्रिया