७४ देशका ९ सय पर्यटकलाई हिमाल आरोहण अनुमति

काठमाडौं । ७४ देशका ८ सय ९९ जनाले बसन्त क्रतुमा हिमाल आरोहण गर्न अनुमति लिएका छन । पर्यटन विभागका अनुसार २५ वटा हिमाल चढ्न अहिलेसम्म ८ सय ९९ जनाले अनुमति लिएका हुन । जसमध्ये करिव ७ सय पुरुष र २ सय एक महिला आरोही रहेका छन । हिमाल चढ्न आउनेको रोजाइ भने सगरमाथा पर्ने गरेको छ । सगरमाथाका लागि प्रत्येक वर्षचार सयभन्दा बढीले अनुमति लिने गरेको पर्यटन विभागले बताएको छ । अघिल्लो वर्ष यही मौसममा सगरमाथा आरोहणको लागि ४३ समूहका चार सय जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि करिव ३ सय जनाले अनुमति लिएको पर्वतारोहणका शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले बताएका छन ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिम सम्मको ‘एक्सिपिडिसन परमिट’ मा अमादब्लम आरोहणका लागि ९७ जनाले अनुमति पाएका छन । अन्नपूर्ण हिमाल आरोहणको लागि ४ र नुप्से हिमालको लागि ७ समूहले अनुमति पाएका छन । मकालु हिमालको लागि ४, धौलागिरिका लागि २ र ल्होत्सेका लागि एक आरोहण गर्ने समूहले अनुमति लिएका छन ।

हिमाल आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख ७ हजार ६ सय ७१ रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यो पटक हिमाल आरोहणका लागि गत बर्षको तुलनामा बढी पर्यटक आएको तथ्याकंले देखाएको छ । आरोही संख्या बढे पनि गत बर्षको तुलनामा राजस्व संकलनमा भने कमी आएको छ । अहिलेको सिजनमा सबभन्दा धेरै अमेरिकन नागरिकले अनुमति लिएका छन। अमेरिकाबाट १३३ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका छन भने बेलायतबाट १ सय ६, भारतबाट ६०, फ्रान्सबाट ५६, अष्ट्रेलियाबाट २९ जनाले हिमाल चढ्न अनुमति लिएका छन ।

सरकारले ४ सय १४ वटा हिमाल आरोहणको लागि खुला गरेको छ । पर्वतारोहण र हिमाली क्षेत्रमा पदयात्रा गर्न आउनेहरू खर्चालु पर्यटकको सूचीमा पर्छन । हिमालको उचाइअनुसार आरोहण अवधि तोकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया