स्वास्थ्य सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्दै गएको छ । नेपालमा पनि स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ । स्थानीय तहको निर्वाचन आउन अब केवल १० दिन बाँकी छ ।

खुला सिमानाका कारण नेपाल र भारतबीच ओहोरदोहोर सहज छ । ठूलो संख्यामा नेपालीहरू भारतका विभिन्न स्थानमा विभिन्न पेसा र व्यवसायमा सक्रिय छन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतबाट ठूलो संख्यामा नेपाली घर फर्कने क्रम पनि सुरु भइसकेको छ ।

यस्तो स्थितिमा सरकारले भारतमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि त्यसको असर पर्नसक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा निर्वाचनको मिति पनि नजिकिँदै गएको अहिलेको स्थितिमा खासगरी सीमा क्षेत्रहरूमा विशेष सावधानी अनपाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकिएको पनि बताए । अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए ।

अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती भएको प्रारम्भिक तथ्य फेला परेको जानकारी पनि दिए । उनले यस विषयमा थप अध्ययन अनुसन्धान भइरहेकोले विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।

सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरूको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनुपर्ने बताए । उनले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै थप सावधानी अपनाउन आवश्यक रहेको बताए ।

उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको जानकारी पनि दिए । भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा निर्वाचनको मिति पनि नजिकिँदै गएको अहिलेको स्थितिमा खासगरी सीमा क्षेत्रहरूमा विशेष सावधानी अनपाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

यसैबीच, पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा १८ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार यस अवधिमा कुल ४ हजार २ सय ५५ जनामा परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या २ सय ११ रहेको छ ।

प्रतिक्रिया