चापाकोटमा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार

स्याङ्जा । स्याङ्जामा कुटपिट र झैझगडाले चर्चित पालिका हो, चापाकोट नगरपालिका । गएराति फेरि एक युवकलाई खुकुरी प्रहार गरिएको छ । स्थानीय तह निर्वाचनको चुनावी कार्यक्रम सकेर चापाकोट फर्कदै गर्दा चापाकोट ९ सुन्तलीटारमा २७ वर्षीय नारायण हिस्की मगरलाई खुकुरी प्रहार गरिएको हो ।


नेकपा एमालेको कार्यक्रम सम्पन्न गरेर फर्केका मगरलाई नेपाली कांग्रेसका युवा समुहले आक्रमण गरेको आरोप लागेको छ । मगरको टाउको र ढाडमा चोट लागेको छ । उनलाई चापाकोट अस्पतालमा उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको छ । मगरलाई २७ वटा टांका लगाइएको चापाकोट नगरपालिका मेयर पदका उमेदवार तथा नेकपा एमाले नगर अध्यक्ष राजु कोईरालाले जानकारी दिए ।


बजारको बीचमा यसरी आक्रमण हुँदा स्थानीयवासी पनि त्रसित भएको कोइरालाको भनाई छ । घटनामा संलग्न फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न फरारलाई खोज्न जिल्लाबाट समेत प्रहरी पठाई सकिएको छ । चापाकोट प्रहरी चौकी र घटनास्थलको दुरी करिब ५० मिटर मात्र छ । तर, घटनामा संलग्न फरार हुनुले पनि यहाँको सुरक्षा कति कमजोर छ, भन्ने स्पष्ट पारेको छ । घाईते पक्षले लालबहादुर घर्ती, निर्मल राना र अनिस महम्हद विरुद्ध किटानी जाहेरी दिने तयारी भैरहेको जनाइएको छ ।


चापाकोट क्षेत्रमा यस्ता घटना नौलो भने होईनन् । कहिले जनप्रतिनिधिले त कहिले युवा समुहले कुटपिट गरेको समाचार बाहिर आउने गर्दछन् । यस अघि कृषि बिकास बैंकका कर्मचारी कुट्ने देखि राहत वितरणमा समेत सर्वसाधारण कुट्ने पालिका फेरि यो घटनाले चापाकोटको सुरक्षा माथी स्थानीयले प्रश्न चिन्ह खडा गरेको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया