एमाले छाडे मेयर बादेले

काठमाडौं । काभ्रेप्लान्चोक जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । मेयर बादेले शनिबार पत्रकार सम्मेलनमार्फत आफुले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले बनेपा नगरपालिकाको मेयर पदमा फेरि उठ्ने आकांक्षा देखाएका थिए । तर, एमालेले उनलाई मेयरको टिकट नदिएपछि पार्टी परित्याय गरेको बताइएको छ । उनले एमालेका नेताहरुले आफुलाई धोका दिएको बताएका छन् ।


एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफुलाई मेयर पदमा पुनः उठाउने बाचा गरे पनि अन्तिम समयमा आएर धोका दिएको उनले बताए । नेताहरुबाट धोका भएकाले आफुले पार्टी परित्याग गरेको जानकारी उनले दिए । उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन् । पार्टी परित्याग गरिसकेपछि नैतिकताका आधारमा पनि मेयर पदमा बसिरहन उपयुक्त नहुने भएकाले कार्यालय खुल्नासाथ पदबाट राजीनामा दिने उनले बताए ।


मेयर बादेले आफ्नो परिवारका अन्य सदस्यले पनि एमाले परित्याग गरेको बताए । स्थानीय तहको आगामी निर्वाचनमा एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई उम्मेदबार बनाएको छ ।यसैबीच, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु भण्डारीले पनि एमाले परित्याग गरेकी छन् । उनी एमाले परित्याय गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार रहेकी भण्डारी शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराए । उनले सुनकोशी गाउँपालिकामा आगामी निर्वाचनका लागि एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि उनले पार्टी छोडेकी घोषणा गरेकी थिइन् । उक्त गठबन्धनपछि उनले गाउँपालिकाको उपाध्यक्ष पदबाट उम्मेदवारी पनि फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया