मातातीर्थे औँसी अर्थात आमाको मुख हेर्ने दिन

मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः अर्थात् आमालाई, पितालाई र गुरुलाई देवतासमान मान । त्यसमाथि आज मातातीर्थे औँसी अर्थात आमाको मुख हेर्ने दिन । आफूलाई जन्मदिने आमालाई आजको दिन छोराछोरी आमाको मुख हेर्ने भन्दै मिठो मसिनो दिई आमाको नजिकै जाने गर्दछन् । टाढाटाढा भएका छोरीहरूपनि आमाको वात्सल्य सम्झँदै आइपुग्छन् । आमा नहुनेहरू नजिकैको तीर्थस्थल तथा काठमाडौंको मातातीर्थमा गएर आफ्नो दिवंगत आमालाई सम्झने गर्दछन् । काठमाडौंको थानकोट नजिकै रहेको मातातीर्थमा अहिले दयनीय हालतमा पुगेको छ । उक्त स्थानमा पहिला पाइलापाइलामा पानीका मूल भेटिन्थे भने अहिले पाइला पाइलामा पानीका ढल भेटिन्छन ।

मातातीर्थको बारेमा पाइएको किंवदन्तीमा मर्यादा पुरुषोत्तम राम वनवासका क्रममा यो ठाउँमा आउँदा स्थानीयले अपरिचित देखेर आक्रमण गरेछन् । स्थानीय र रामबिच घमासान युद्ध भएछ । युद्धमा दुवै पक्ष आकुल व्याकुल भएछन् । त्यसैबेला सीतालाई पानीको प्यास लागेछ र प्यास मेटाउन कतै पानी नपाएपछि श्रीरामलाई भन्नु भएछ । श्रीरामले गंगामाताको स्तुती गर्दै ‘माता गंगासमो तीर्थ पुस्कर मे वचः’ भन्दै मन्त्रोच्चारण गर्दै जमीनमा वाण प्रहार गरेपछि त्यहाँ जलाशय बनेछ । त्यस जलाशयमा माता सीताले ब्रम्हाण्डको दर्शन पाउनु भएछ र उक्त जलाशयमा माता सीताको स्वरुप ढुंगामा कोरिन पुगेछ । घना जंगले घेरिएको उक्त ठाउँमा समयको क्रमसँगै गाई चराउन आएका गोठालाहरु खाजा खान थालेछन् । त्यसमध्ये एउटा गोठालोको हातको रोटी मुखतिर भन्दा जलाशयतिर जाँदो रहेछ । उक्त गोठालोले जलाशयमा गएर हेर्दा आफ्नो मृतआमालाई देखेछ । आफ्नो आमालाई देखिपछि उक्त गोठाले घर फर्किन नमानेपछि आमाले छोरालाई हामी बैशाख औसीका दिन यहाँ आउँछौँ भन्ने वाचा दिलाएपछि गोठालो फर्किन मानेछ । त्यसबेलादेखि नै यस ठाउँ पवित्र तीर्थस्थल मातातीर्थ रहन गएको भन्ने किंवदन्ती पाइन्छ ।

माता शब्दको अर्थ व्यापक छ । ब्रह्मवैवर्तपुराण, गणपतिखण्ड, अध्याय १५ मा १६ किसिमका स्त्रीलाई माता भनी लेखिएको छ । (१) दूध चुसाउने अर्थात् धाईआमा (२) गर्भमा बोक्ने अर्थात् आमा (३) खाना खुवाउने अर्थात् भान्छे बज्यै (४) गुरुकी पत्नी अर्थात् गुरुआमा, (५) प्रिय देवताकी पत्नी, (६) पिताकी पत्नी अर्थात् सौतेनी आमा (७) कन्याकेटी (८) एउटै गर्भबाट जन्मिएका दिदीबहिनी, (९) छोराकी पत्नी, (१०) पत्नीकी आमा अर्थात् सासू, (११) आमाकी आमा अर्थात् मावली हजुरआमा, (१२) बाबुकी आमा अर्थात् हजुरआमा, (१३) सहोदर दाजुभाइका पत्नी अर्थात् भाइबुहारी र भाउजू, (१४) आमाका दिदीबहिनी, (१५) बाबुका दिदीबहिनी अर्थात् फुपूहरू र (१६) माइजू ।

यसरी आमाको प्रकार बताएसँगै सोही पुराणको ४०औँ अध्यायमा माताहरूमध्ये गर्भमा बोक्ने माता सबभन्दा पूजनीय हुन्छिन् भनिएको छ । गरुडपुराणले सम्मान गर्नुपर्ने नातागोताको नाम दिँदै मातालाई सर्वाधिक पूजनीय भनी उल्लेख गरेको छ । यसै गरी अग्निपुराणमा पतित भए बरु पितालाई त्याग्नू तर आमालाई नत्याग्नू एवं एउटी माता १० जना पिता बराबर पूजनीय हुन्छिन् भनिएको छ । कूर्मपुराणमा पाँच थरी प्रमुख गुरुको नाम दिँदै तिनमा सर्वश्रेष्ठ गुरुआमा हुन् भनिएको छ ।

उता सुनैसुनको लंका देखी लोभिएर उतै राजा भई बस्न सल्लाह दिने आफ्ना भाई लक्ष्मणलाई रामचन्द्रले,– ‘अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’ अर्थात् ‘जन्मदिने आमा र मातृभूमि स्वर्गभन्दा पनि श्रेष्ठ हुन्छन्, मलाई यो सुनैसुनको लंकाले लोभ्याउन सक्दैन’ भन्दै आमाको गरिमा बताएका कथा पनि छन् । समग्रमा भन्नुपर्दा आमाको महिमालाई यहाँ समेट्न सम्भव नै छैन ।

प्राकृतिक कन्या जन्मनु भनेको आमा जन्मनु नै हो । अहिलेकी बालिका भविष्यमा युवती हुँदै आमा बन्दछिन् । तर शास्त्रले दिएको असीमित प्रशंसा र जिम्मेवारीलाई आजकलका आमाहरू धान्न र बोक्न नसक्ने हुन थालेका छन् । दोष पुरुषलाई थोपर्ने आदत भए पनि नारीको सबभन्दा ठूलो शत्रु यथार्थमा नारी नै हुने गर्दछिन् । सासू र बुहारी, नन्द र आमाजू, दिदी र बहिनी, जेठानी र देउरानी आदि नातामा देखिने दिक्कलाग्दा तूष यसका ज्वलन्त उदाहरण हुन् । आमाहरू पनि आफ्नै कोखबाट जन्मिएका सन्तानप्रति समभाव राख्ने खालका देखिँदैनन् । आमाको माया पनि सबै बुहारी, सबै छोरी आदिसँग समान किसिमले बाँडिएको पाइन्न ।
परिवारसँगको सम्बन्ध र आफ्नो जिम्मेवारीप्रति उदासीन हुन अभ्यस्त आमाहरूले गर्दा समाज बिथोलिएको छ । असंख्य आमाहरू गर्भमै तुहिन बाध्य भएका छन् । समग्रमा भन्नुपर्दा जेजस्ता दायित्व आमाका लागि तोकिएका छन् त्यसलाई पूरा गर्न नसक्ने गरी आमाहरू कुँजिन थालेका छन् । सडकका पेटी र वृद्धाश्रममा लगेर फालिएका आमाहरूको कथा र व्यथा बेग्लै छ ।

‘देउरानी र जेठानीहरू, सासू र बुहारीहरू, सौता सौताहरू तथा नन्दआमाजू र बुहारीभाउजूका बीचमा परस्पर स्वाभाविक शत्रुता हुन्छ’ भनेर शुक्राचार्यले लेखिदिए । गलत लेखे पनि कसरी भन्नू ? प्रमुख देवीहरूका बीचमा नै यसलाई पुष्टि गर्ने अनेक कथा पाइन्छन् । जन्मजातका प्राकृतिक अवगुणलाई दवाएर गुणलाई धारण गर्ने नारी नै वास्तविक आमा हुन् । अन्य गुणका लागि त पशुहरूमा पनि आमा हुने गर्दछिन् ।

आजकल मातातीर्थे औँसी वा आमाको मुख हेर्ने दिनलाई नयाँ पुस्ताले ‘मदर्स डे’ भन्न थालेका छन् । के मदर शब्दले माताको विशाल अर्थलाई समेट्न सक्दछ र ? ‘आमा’ भन्दा खिन्न हुने र ‘ममु’ भन्दा मक्ख पर्ने हाम्रो स्वभावले अहिले नतिजा देखाउन थालेको छ । सासूहरू बुहारीहरूलाई र बुहारीहरू सासुहरूलाई देखिनसहने हुन थालेका छन् । पत्नीप्रिय समाजको विकास भइरहेछ । पुत्रहरूलाई आमाको ममताभन्दा न्यानो सासूको ममता हुन थालेको छ । हामी गलत बाटोतिर गइरहेका छौँ । खैर जसले जहाँ लगेर ममता फाले पनि भाँडो नफाल्नू । भोलि त्यही भाँडो आफूलाई फाल्न आफ्ना सन्तानलाई काम लाग्दछ ।

आमाको ममताको प्रसंगमा एउटा कथा प्रचलित छ । पौराणिक कालको देवपत्तन नगरमा सगुरी र निगुरी नामका दुई नारी बस्थे । अचानक एउटीको छोरो हरायो, अर्कीले भेट्टाई । सगुरी र निगुरीबीच विवाद भयो । उक्त छोरालाई दुवैले आफ्नै सन्तान भएको दाबी गरे । अब न्यायका लागि न्यायाधीशकहाँ जानुपर्ने भयो । उक्त मुद्दा फैसलाका लागि आफूकहाँ आउँदा न्यायाधीशलाई पनि फसाद प¥यो । के गर्ने ? कसरी गर्ने ? भन्ने अलमलपछि न्यायाधीशले एउटा निष्कर्षमा पुग्दै दुवैसँग प्रश्न गरे– अब यो बालकलाई आराले बीचबाट चिरेर दुई भाग लगाई एक–एक भाग बाँडिदिन्छु ।’


न्यायाधीशको यस्तो वचन सुन्नेबित्तिकै सगुरीको ममता उर्लिएर आयो । उसले भनी– बरु मलाई मेरो छोरा चाहिँदैन, उसलाई नकाट्नू । निगुरी भने बालकको आधा शरीर भए पनि स्वीकार गर्न तयार भई । यसबाट न्यायाधीशले उक्त सन्तान सगुरीको नै भएको थाहा पाए । यो कथनले आमाको ममता, स्नेह, त्याग गर्न सक्ने शक्ति तथा अगाध प्रेमलाई स्पष्ट पार्छ ।

पौराणिक कालमा आमाको उपदेशबाट सन्तानले सफलता प्राप्त गरेका कथा थुप्रै छन् । महाभारत कालमा विदुला नामकी महारानी थिइन् । उनको सञ्जय नाम गरेको पुत्र त्यही देशको राजा थियो । एकदिन छिमेकी सिन्धुराजले उक्त राज्यमा आक्रमण ग¥यो । युद्धबाट विदुलापुत्र सञ्जय भाग्न बाध्य भयो । जब विदुलाले आफ्नो पुत्र कायर भै युद्ध छोडेर आएको देखिन् तब उनले क्रोधित मुद्रामा पुत्रलाई भनिन्–थुक्क लाछी, कायर, डरपोक ! तँ बरु मरेको भए हुन्थ्यो । तैंले मेरो दूध खाएको रहेनछस् । तैंले मेरो दूध खाएको भए यसरी युद्धलाई अधूरै छाडी आउँदैनथिस् । बरु तेरो लास आएको भए मेरो चित्त बुझ्थ्यो । तैंले आपना पुर्खाको गौरव माटोमा मिलाइस् । धिक्कार छ मलाई तँजस्ताकी आमा भएकोमा !’


आमाको यस्तो बचन सुनेर सञ्जय पुनः युद्धमा फर्कियो र सिन्धुराजमाथि विजय प्राप्त गरेर आमासामु उपस्थित भयो । त्यसबेला विदुलाले बहादुर छोराकी आमा भएकामा गर्वले छाती फुलाउँंदै भनिन्–‘स्याबास् छोरा ! तँ मेरो रगत होस् ।’

जे भएता पनि पिताको ऋणबाट मुक्त हुने अनेक उपाय शास्त्रमा बताइएका छन् । तर आमाको गर्भपीडा र दूधको भारबाट पार पाउने उपाय अत्यन्त सीमित छन् । हरेक नारीले हरेक नारीमा आमाको अनुहार देख्नसके पुरुषहरूमा हुने विचलन आफैं तह लाग्दथ्यो । आमाको मुख हेर्ने दिनले माताको विशाल अर्थलाई आत्मसाथ गर्न हरेक आमा र सन्तानलाई प्रेरणा दिन सकोस्, सबैलाई शुभकामना !!!

प्रतिक्रिया