दोलखामा कांग्रेसका ५ नेता निष्काशित

दोलखा । नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिले पाँच जना नेतालाई भविष्यमा समेत कांग्रेस हुन अयोग्‍य ठहरिने गरी पार्टीबाट निष्काशन गरेको छ । नेपाली कांग्रेस दोलखाले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा अन्य पार्टीलाई सहयोग हुने गतिविधि गरेको भन्दै ५ नेतालाई भविष्यमा समेत पार्टीका लागि अयोग्य ठहरिने गरी निष्काशन गरेको हो ।

दोलखाका जिल्ला सभापति वर्मा लामाले एक विज्ञप्ति जारी गर्दै पाँच नेतालाई कारबाही गरेको जानकारी दिएका हुन् । पार्टीबाट निष्काशन हुनेमा वैतेश्वर–२ निवासी पूर्व जिल्ला उपसभापति छविलाल मोक्तान, मेलुङ-४ का पूर्ववडाध्यक्ष छत्रबहादुर तामाङ, कालिञ्चोक गाउँपालिका–४ का वडा सभापति केदार कार्की, कालिञ्चोक–४ का क्षेत्रीय प्रतिनिधि यमबहादुर कार्की र कालिञ्चोक–५ का वडा सभापति सहदेव खड्का छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसभित्र विभिन्‍न तहमा जिम्मेवारीमा रहनुभएका साथीहरुलाई पार्टीको विधि-विधानविपरीत आसन्‍न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अन्य पार्टीलाई मद्दत पुग्‍ने कार्य गरेको ठहर गर्दै आजबाट उहाँहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी भविष्यमा नेपाली कांग्रेस हुनसमेत अयोग्‍य ठहरिने गरी निष्काशित गरिएको छ ।’ कांग्रेसले यसअघि गठबन्धनमा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरु स्वत: निष्काशन हुने जनाएको थियो ।

प्रतिक्रिया