पर्यटन प्रवद्र्धन गर्ने सहमती

काठमाडौ । देशभित्र पर्यटन प्रवद्र्धन गर्ने सम्वन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड बीच सहमती भएको छ । सो सम्वन्धी समझदारीमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. धनन्जय रेग्मीले बिहीबार हस्ताक्षर गरेका हुन ।

आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनमा सहकार्य हुनेछ ।
महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयां दिशा दिन यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गरे । गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाए । कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाको सहभागितामा छिट्टै वृहद कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरे । यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्ने गोल्छाको भनाई थियो ।

पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुपर्नेमा जोड दिंदै भने,‘यो सम्भव पनि छ । यसका लागि सरकारको सहयोग आवश्यक छ ।’ नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने उनको सुुझाव थियो । काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने बताउदै अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताएका थिए ।

वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राखेका सुुझाव मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास उनले व्यक्त गरे ।
पर्यटनसंग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन पनि उनले आग्रह गरे । सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुु पर्नेमा जोड दिएका थिए । महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताइन । महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया