गाउँ रित्याएर सहर उँभो लागायो रेमिट्यान्सले

गलेश्वर । करिब तीन दशक अघिसम्म यहाँका गाउँमा ढुंगा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर मात्रै हुन्थे, गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । एकले अर्कोको समस्या अनुभूति गर्थे । दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो ।

घरको पछाडि करेसाबारी, लेकबेँसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवायुवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको । खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो ।

गाउँका यो प्राकृतिकस्वरूप हराएको पुगनपुग ३० वर्ष भयो । ०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु गर्यो ।

०४६ सालदेखि भर्खर बामे सर्न थालेको विकासको पाइला ०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला पर्यो । ०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि ०६२/६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुनः विकासको लहर फैलियो । विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो ।

गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन । जब डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो । गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयको गुनासो छ ।

‘सडक पुग्यो, गाडी पनि चल्यो तर, गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन,’ मालिका ५ देवीस्थानका एकजीत बूढाले भने, ‘हाम्रा लागि विकास, आकाशको फल आँखा तरी मर, भनेजस्तै भयो ।’ गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र सहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँगाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी । बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरूको जीविका ।

शिक्षक धनवीर थापाले भने, ‘गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउँछन् गाउँलेहरू । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।’ अहिले धान–चामल चाहीँ विदेशबाट ओसार्न पर्ने बनाएको छ । वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीय बताउँछन् । ‘गाउँ न पहिलेका गाउँ जस्ता छन्, न त सहर जस्ता नै हुनसकेका छन्,’ बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘गाउँ वर्णशंकर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐँचोपैँचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए ।’ उनले आफ्ना भोगाइ सुनाए ।

आसन्न स्थानीय तहको माहौल जिल्लामा तातेको छ । ‘नेताहरूले गाउँ बस्तीलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् । असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ ।’ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापाले भने । ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् । वर्णशंकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ ।
उनीहरू आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरूको जीवनशैलीका कारण बढी चिन्तित छन् । धर्म–कर्म, दान–दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरू बताउँछन् । ‘ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरीया जस्ता पनि हुन सक्दैनन्,’ ७६ वर्षीय दण्डपाणीले भने, ‘रेमिट्यान्सले सहरलाई उँभो लगायो, गाउँलाई रित्याइदियो ।’

उनले भने, ‘गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने सहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, सहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।’

प्रतिक्रिया