‘मिथ्या समाचार र अफवाह फैलाउनु हुँदैन’

चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरूले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघले सौराहामा सुरु गरेको स्थानीय तह निर्वाचन, रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उनले सामाजिक सञ्जालमार्फत पनि अफवाह नफैलाउन आग्रह गरेका हुन् । ‘समाचारमा मात्रै होइन, सामाजिक सञ्जालमा कुन्ठा पोख्ने काम बन्द गर्नुपर्छ’, उनले भने, ‘हाम्रो समाचार र सामाजिक सञ्जालका पोस्टले पार्टीको दुई भोट त बढ्ला तर तपाईं–हाम्रो विश्वसनीयता घट्छ ।’ पत्रकारले मतदातालाई दिग्भ्रमित पार्न नहुने उनको भनाइ थियो ।


संविधान प्रदत्त नागरिकको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्ने काममा लाग्न उनले आग्रह गरे । बिनात्रास मतदानस्थलसम्म पुग्न र आफूले चाहेको मतदान गर्ने वातावरण सिर्जना गर्ने भूमिका अहिले पत्रकारको हुनुपर्ने उनले बताए । निष्पक्ष निर्वाचन हुनसके मात्रै लोकतन्त्र जीवन्त रहने पोखरेलको भनाइ छ । सो अवसरमा महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, प्रशिक्षक चिरञ्जीवी अर्याल, कार्यक्रम संयोजक सुनिल खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३० जना पत्रकारको सहभागिता रहेको छ ।


महासंघले सौराहा, इटहरी र नेपालगञ्जमा सात प्रदेशका पत्रकारलाई एकैपटक प्रशिक्षण सुरु गरेको हो । दुईदिने प्रशिक्षमा स्थानीयस्तरमा कार्यरत पत्रकारलाई निर्वाचनको समग्र प्रक्रिया र यो अवधिमा पत्रकारको भूमिकाका बारेमा जानकारी दिइनेछ ।
यस्तै निर्वाचनको बेला रिपोर्टिङ गर्न सकिने विषय वस्तु, निर्वाचनका बेला रिपोर्टिङ गर्दा देखिनसक्ने पक्षधरताका बारेमा जानकारी गराउनेछ । पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताबारे समेत जानकारी दिइनेछ ।

प्रतिक्रिया