काठमाडौंका उम्मेदवारले नबुझेको कुरा

आसन्न स्थानीय निर्वाचनका सिलसिलामा पार्टी तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्याएका छन् । पार्टीका घोषणापत्र तथा उम्मेदवारका प्रतिवद्धतापत्रहरू सार्वजनिक भइसकेका छन् । विगतमा आमसभा कोणसभामार्फत प्रचारप्रसार गर्ने प्रचलन थियो, अहिले सहरी क्षेत्रमा आमसभा तथा कोणसभाको प्रचलन हराएको छ । मिडियामार्फत नै दल तथा उम्मेदवारहरूको प्रचारप्रसार अघि बढेको छ । ठूला पालिकाका उम्मेदवारहरूले राष्ट्रिय मिडियामा ठाउँ पाएका छन् । खासगरी महानगरपालिका तथा उपमहानगरपालिकाको प्रतिस्पर्धा राष्ट्रिय मिडियाका लागि मसला बनेको छ ।

त्यसमा पनि काठमाडौं महानगरपालिकाले ठूला मिडियाको मात्रै होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानसमेत तानेको छ । देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा ७७रै जिल्लाका करिब नौ लाख जनसंख्याको बसोवास छ । बजेट मात्रै वार्षिक २० अर्ब रुपैया“को हाराहारीमा छ । सिंगो मुलुकको नीति निर्माण तहमा प्रभाव राख्ने वर्ग काठमाडौं महानरपालिकाको मतदाता छ । त्यसैले काठमाडौं महानगर पालिकाका मेयरको गरिमा संघीय सरकारको मन्त्री या प्रदेश सरकारको मुख्यमन्त्रीभन्दा कम हुँदैन । तर यो गरिमामय पदमा उम्मेदवार हुनेहरूको प्रतिवद्धता तथा दृष्टिकोण सुन्ने हो भने आशाजनक अवस्था देखिँदैन ।

प्रमुखदलहरू त काठमाडौं महानगरपालिकाको गरिमा सुहाउँदो उम्मेदवार प्रस्तुत गर्न चुकेचुके, स्वतन्त्र उम्मेदवारी दिनेहरूले पनि पदको गरिमा अनुसारको दृष्टिकोण तथा प्रतिवद्धता प्रस्तुत गर्न चुकेका छन् । उम्मेदवारहरूको वर्तमान तथा पृष्ठभूमि हेर्दा गत निर्वाचनको तुलनामा केही सुधार आएको देखिन्छ, तर महानगरपालिकाको कार्यशैली परिवर्तन हुने अपेक्षा गर्न भने सकिने अवस्था रहेन ।

गत निर्वाचनमा जस्तो महानगरपालिकाले मनोरेल र मेट्रोरेल चलाउने भाषण यसपटकका उम्मेदवारले नगर्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ । गत निर्वाचनको जस्तो सय दिनमा यो यो काम गर्छु भन्दै हावादारी सूची यसपटक उम्मेदवारहरूले ननिकाल्नु सकरात्मक पक्ष हो । विगतमा स्रोत विनाका प्रतिवद्धताहरू जारी गरेर दलहरूले आफूहरूलाई मुर्ख बनाएको कुरा जनताले बुझिसकेका कारण पनि यसपटक उम्मेदवारहरूले आकाश पातलका कुरा हाँक्न छाडेको देखिन्छ । तर, काठमाडौं महानगरपालिकाका केही धरातलीय यथार्थताहरू भने उम्मेदवारले थाहा नपाएका हुन् या बुझ पचाएका हुन् भन्ने प्रश्न गम्भीर छ । किनकी काठमाडौं उपत्याका भित्रका पालिकाहरूको सिमांकन तथा संरचनामा भएका त्रुटीका कारण काठमाडौं महानगरपालिकाले मात्रै समस्या समाधान गर्न सक्ने संभावना छैन । तर, यो त्रुटी सच्याउनुपर्ने मुद्दा कुनै पनि उम्मेदवारले बनाएका छैनन् ।

पहिलो कुरा त काठमाडौंको प्राचीन सहर जसलाई कोर एरिया भन्ने गरिन्छ । यो क्षेत्रका १० वटा वडाहरूको क्षेत्रफल तथा जनसंख्या जति छ, त्यो बाहिरको एउटै वडाको जनसंख्या तथा क्षेत्रफल दोब्बर छ । उदाहरणका लागि कोर एरियाका १० वटा वडाको कुल जनसंख्या करिब ५० हजार र क्षेत्रफल करिब चार वर्ग किलोमिटर छ, तर वडा–१६ एउटैको जनसंख्या ८० हजारको हाराहारीमा छ । क्षेत्रफल करिब ६ वर्ष किलोमिटर छ । महानगरपालिकामा कोर एरियाका ५० हजार जनताले ५० जना प्रतिनिधि पठाउँछन् । कोर एरिया बाहिरका ८० हजार जनताले जम्मा पाँच जना प्रतिनिधि पठाउँछन् । यस्तो अवस्थामा कुनै पनि मेयरले स्र्रोत साधनको न्यायोचित प्रयोग तथा वितरण गर्न सक्ने संभावना रहन्न ।

नगर यातायातकै कुरा गर्ने हो भने यस्तो कुनै रुट छैन जो काठमाडौं महानगरपालिकाभित्र मात्रै परोस् । उपत्यका भित्रका सबै पालिकाहरू एक ठाउँमा उभिएर नीति नबनाएसम्म यातायातको समस्या समाधान संभव छैन । शिक्षा तथा स्वास्थ्यका समस्या समाधानका लागि पनि उपत्यका भित्रका अन्यपालिकासँग नमिली काठमाडौं महानगरपालिकालाई धरै छैन । चाहे फोहोर विसर्जनको मामिला होस् या खानेपानीको मामिला होस् काठमाडौं महानगरपालिका आफैँले समस्या समाधान गर्न सक्ने संभावना छैन ।

काठमाडौं महानगरपालिकाको संरचना तथा सिमांकनलाई यथावत राख्ने हो भने बजेट तथा स्रोत साधनको दुरुपयोगबाहेक केही हुँदैन । भक्तपुर नगरपालिकाजस्तै काठमाडौंको पनि प्राचीन सहर रहेको कोरएरियालाई छुट्टै सानो र चिटिक्क परेको नगरपालिका बनाउने र उपत्यकाको बाँकी सबै क्षेत्रलाई समेटेर भारतको दिल्लीजस्तै प्रदेशकै हैसियतको इकाइ बनाउनुबाहेक अर्को विकल्प छैन भन्ने यथार्थतालाई उम्मेदवारहरूले समेत बुझेको देखिन्न ।

प्रतिक्रिया