‘गठबन्धनका उम्मेदवारलाई जिताऔं’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।

प्रधानमन्त्रीले बिहीबार एक विज्ञप्ति जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गर्दै स्थानीय तहसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई जिताउन आव्हान गरेका हुन् ।

मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको छ ।

पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सात वटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले पार्टीका सबै सदस्यलाई अनुरोध र आह्वान गर्दागर्दै पनि पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेदवारी फिर्ता लिन आव्हान गरेका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया