पूर्व राष्ट्रपति यादवले पुनःस्थापित संसद् बन्धक बनाएको देख्नुभयो तर एमालेले कारबाही गरेका १४ सांसद्लाई मात्र सभामुख स्वयंसहित भएर कारबाही नगरेर संसदीय मूल्य मान्यताको खुलेआम चिरहरण गरेको देख्नु भएन । उहाँले लोकतान्त्रिक चरित्र अनुसार पार्टी अघि बढ्न सकेनन्, त भन्नुभयो तर जनादेश र मतादेश विपरीतका गैर संवैधानिक गैरसंसदीय निर्लज्ज चरित्र र चिन्तन पटक्क देख्नु भएन ।
स्थानीयतहको निर्वाचन सम्मुख पूर्वमहामहिम राष्ट्रपति डा. रामवरण यादवज्यूको अन्तर्वार्ता प्रकाशित भएको छ । एक चल्तीको छापा पत्रिकामा डा.यादवले राजनीति भनेकै मनि, मसल र माफियाको बिम्ब बन्न थालको छ, शीर्षकमा विचार व्यक्त गर्नुभएको छ । यतिबेला यो अन्तर्वार्ता चुनावमा प्रभावित पार्ने गरी तयार गरिएको स्पष्ट हुन्छ । उक्त पत्रिकामा महामहिम पूर्वराष्ट्रपतिको एमाले र अझ ओली सरकार विरुद्धमा अन्तर्वार्ता केन्द्रित देखिन्छ । चुनावमा सम्मुख उहाँ पार्टीकै प्रचारमा लाग्नुभएको हो ? डा.यादवज्यूले ओलीले दुईचोटी संसद् विघटनको अवैधानिक प्रयास भएको देख्नुभयो तर जनादेशलाई पूरै लत्याएर परमादेशबाट प्रधानमन्त्री बनाउँदै संसदीय व्यवस्थाको धज्जी उडाएको देख्नु भएन । अझ उहाँले महामहिम राष्ट्रपतिको एक मात्र स्वविवेकीय विशेषाधिकारलाई सर्वोच्च अदालतले अपमान पूर्वक बलात हस्तक्षेप गरेको देख्नुभएन मात्र होइन डा.यादवज्यूले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको मतियार भएको गैरसंवैधानिक फतुर पनि लगाउनुभएको थियो ।
पूर्वराष्ट्रपति यादवले पुनः स्थापित संसद् बन्धक बनाएको देख्नुभयो तर एमालेले कारबाही गरेका १४ सांसद्लाई मात्र सभामुख स्वयंसहित भएर कारबाही नगरेर संसदीय मूल्य मान्यताको खुलेआम चिरहरण गरेको देख्नु भएन । उहाँले लोकतान्त्रिक चरित्रअनुसार पार्टी अघि बढ्न सकेनन्, त भन्नुभयो तर जनादेश र मतादेश विपरीतका गैरसंवैधानिक गैरसंसदीय निर्लज्ज चरित्र र चिन्तन पटक्क देख्नु भएन ।
डा.यादवले २०७४ को निर्वाचन सरकारले गरेका काम पनि विवाद मुक्त हुन सकेनन् भन्नुभयो तर नेपाल र नेपालीको हक हित र उत्थानदेखि नसहेर ओलीलाई दुईपटक प्रधानमन्त्रीबाट विदेशीको बुईमा बोकिएर हटाएको पनि देख्नु भएन । लोकतन्त्रका आधारभूत पक्ष जस्तो मिडिया सञ्कुचन पार्ने, व्यवस्थापिका न्यायपालिका को भूमिका नजरअन्दाज गर्ने संवैधानिक निकायको भूमिका नियन्त्रण गर्ने जस्तो काम ओली सरकारले गरेको बेलिबिस्तार लगाउनुभएको छ तर ओलीको बहिर्गमनपछि न्यायपालिका र व्यवस्थापिकाको इज्जत र आबरु गठबन्धन सरकारले धज्जी उडाएको देख्न र भन्न चाहनु भएन । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको महाभियोग प्रकरण र काम स¥यो भाँडे आफत तेरो भाँडोझैँ गरेर आफूले भने अनुसार हुबहु नमान्ने देखेपछि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई पारितै नहुने महाअभियोग लगाएर घोर अपमान गरेको डा.यादवले देख्नु भएन । देख्दै नदेखेपछि बोल्न पनि मिलेन ।
नेपालको परराष्ट्र र गृहजस्ता क्षेत्रमा विशेषतः छिमेकी भारतको सूक्ष्म अवलोकन र हस्तक्षेप हुने गरेको कुरा तराई मधेसका प्रजिअको नियुक्ति र सरुवामा समेत प्रभावित पार्ने गरेको विगत इतिहास साक्षी छ । अनि यस्ता विषयमा ओली सरकारले आफ्नो बलियो पकड राख्दा यादवज्यूलाई के को आपत्ति र किन ? डा.यादव प्रदेश–२ को नाम स्वर्ण अक्षरले अंकित गर्न लायक अत्यन्त गौरव गरिमा तथा महिमा मण्डित सांस्कृतिक विरासद् र वैभवयुक्त जनकपुर जस्तो विशिष्ट पहिचान राखिएन । यसका विरुद्ध मधेस राखेकामा डा.यादव सुरुदेखि सुझाव नदिएर मौन बस्नुभयो । मधेस प्रदेश राखेकामा भारतीय प्रधानमन्त्री मोदीले त्यहाँको प्रदेश सरकारका मुख्य मन्त्रीलाई बधाई दिएपछि उनका सखाहरूले बोल्ने कुरा पनि भएन । जनकराजाका दरबारमा विद्वतसभा हुन्थ्यो । शास्त्रार्थ हुने गथ्र्यो याज्ञबल्क्य ऋषिसित गार्गी विदुषिहरू शास्त्रार्थ गर्थे । अष्टाबक्र ऋषि जस्ता ऋषिहरूको विशिष्ट महत्व र योगदान रहेको छ । यस्तो देशको र प्रदेशको शीर्ष सांस्कृतिक धार्मिक महत्वलाई धुलिसात् पार्दा डा.यादवलाई कतै पनि च्वास्स मुटुमा छोएको पाइएन । अनि प्रदेशलाई यो वा त्यो अधिकार दिएन भन्नुको हतार किन महाशय ।
ओली सरकारले आफू मातहत ल्याएका राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण लगायतका विभाग राखेकामा डा.रामवरणज्यूलाई किन के को आपत्ति ? यस्ता विषयलाई आधार बनाएर निराधार रूपमा यसले लोकतन्त्रको आवरणमा कार्यकारी निरंकुश हुने प्रवृत्ति भन्न यादवज्यूलाई सुहाउँछ ?
यो लेखक पूर्वराष्ट्रपतिज्यूका तमाम विगत कोट्याउन चाहँदैन तर यसरी सबै दोष अमुक नेता र अझ वर्तमान राष्ट्रपतिप्रति आरोपित गर्न थाल्नुभयो भने सबै फेहरिस्त जनसमक्ष यो लेखक उजागर गरिदिन्छ । राष्ट्रपति निवासमा दही च्युरा खुवाउनु हुने उहाँले संविधानविरुद्ध उतिवादी पाराले तराई मधेसमा रहर र लहडले आगो बोल्दा बोलाएर किन सम्झाउनु भएन । संविधान जारी गर्ने बेलामा तपाईंको विचार व्यवहार अझै झलझली याद आउँछ । सबैभन्दा भ्रष्टाचार प्रदेश–२ मा व्याप्त छ । जनतालाई राहत दिने र साइकल बाँड्ने आदि नाममा भ्रष्टाचारले हिमाल नाघेको तपाईं देख्नु हुन्न । पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजजस्ता कुनै पनि खाले आग्रहरहित व्यक्तित्वहरूको खाँचो यस मुलु्कलाई छ । कुनै पनि मानिस नामले, पदले पदवीले, आस्था आदिका आधारमा भन्दा कामका आधारमा महान हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री मन्त्री र माननीय बन्दैमा कोही पनि महान हुँदैन तर असल मानिस बन्न सजिलो छैन ।
यो लेखक माक्र्सवादी तथा जबजको बहुआयामिक स्वस्थ्य प्रतिस्पर्धी विचारको पक्षधर भएका नाताले यही सीमाभित्र रहेर मात्र मत प्रकट गर्दछ । केही प्रजातान्त्रिक, प्रगतिशील, वरिष्ठ प्राध्यापक तथा लेखक भनिनेहरूले जस्तो महामहिम राष्ट्रपति विद्या भण्डारीलाई अनेक खालका दुराग्रह राखेर मुखबमोजिम बोल्न र लेख्न यस लेखकलाई सुहाउँदैन । त्यसैले तपाईंकाप्रति आदर भावका साथ विचार व्यक्त गर्छु तर कमजोरीलाई भने शालीनतापूर्वक उठाउन चाहन्छु । तपाईंले सार्वजनिक रूपमा बोलेपछि र लेखेपछि त्यसले समाजलाई भ्रमित पार्छ ।
राष्ट्रपति भएदेखिका तपार्इंका विषयमा ध्यानपूर्वक अध्ययन गरिरहेको नाताले पनि सबै गतिविधि यस लेखकलाई राम्रै थाहा छ । पहिले पनि आफ्नो अग्लो उचाइ र औकात नघटाए हुन्थ्यो भनेर लेखेकै हो । आफ्ना देशका अग्ला पहिचानलाई सम्मान गर्दा आफू अपमानित भइन्न । तर हाम्रो देशमा सबै राजकीय र राजनीतिक उच्च नेतृत्व सम्हालेका सबै नेतालाई एउटै डालोमा हालेर खसीबाख्री एउटै धोक्री गर्ने गलत बानी बसेको र बसाइएको छ । आफूलाई मानव अधिकारवादी भन्ने डा. देवेन्द्र पाण्डे उत्तराद्र्ध उमेरमा पनि सही सत्य बोलेनन् । नेपाल त्यसै पछि परेको होइन । यहाँका उपल्ला तहका शैक्षिक बौद्धिक प्राध्यापकीय तथा मानव अधिकारवादी व्यक्तिहरू कुनै पनि र कसैले पनि गरेका कामलाई आग्रह र दुराग्रहको चश्माले हेर्छन् । ०६३ सालपछि बनेका सरकारले केही नै गरेनन् केही पनि भएन भन्छन् र आमजनतामा निराशा फैलाउँछन् । ओली सरकारले पहिले कसैले नसोचेका र नगरेका कामहरू गरेर नै देखाउनुभयो । ओली सरकारसित अहिलेको गठबन्धन सरकारका कामहरू सित दाँजेर हेर्ने हो भने आकाश जमिनको अन्तर स्पष्ट देख्न सकिन्छ ।
मान्यवर, दार्चुला निवासी जयसिंह धामीलाई महाकालीमा बगाएर मारेको घटनामा गठबन्धन सरकार चुप्प रहेको विषयलाई सामान्य ठान्नुभएको छ ? यो त मान्छे म¥यो भन्दा पनि काल पल्केको स्थिति हो । दिनदहाडै आफ्नो नागरिक मारिँदा नबोल्ने देउबा, दाहाल र नेपालसित गठबन्धन गर्नु जनहितका लागि हो र महोदय ?
ओलीको सरकार भएको भए त्यस्ता गतिविधि गर्ने हिम्मत नै गरिने थिएन र गरिएको भए माफ माग्नुपर्ने र क्षतिपूर्ति भर्नुपर्ने अवस्था आउँथ्यो । यति कुरा सामान्य जनताले बुझ्छन् । ओली सरकारलाई हटाएपछि गठबन्धन सरकार र प्रदेश सरकारहरू विधि विपरीत चलिरहेका छन् । सात वटा मात्र मन्त्रालय हुनुपर्नेमा १४÷१५ जनासम्म मन्त्री मण्डल बनाइरहेका छन् । एक मन्त्री बराबर सामान्य मासिक खर्च पाँच लाख कम्तीमा हुन्छ भनिन्छ । यस खालको चरम लोभीपापी काम ओली सरकारले त गरेकै थिएन । एमालेमा उर्लिएको जनसमुद्र देखेर डा.यादव अत्यन्त बेखुस हुनुहुन्छजस्तो छ । तपाईंले ओलीविरुद्ध प्रत्यक्ष वा परोक्ष कपोलकल्पित टिप्पणी गरे पनि जनताले पत्याउनेवाला छैनन् । किनभने ओली सरकारले कामले नै जनताको मन जितिसकेको छ ।
ओली सरकारलाई हटाउने बित्तिकै महाकालीमा भारतले रातारात एकतर्फी पक्की तटबन्ध बनाएर बर्खे भेलबाढी नेपालतिर फर्काउने कृत्य गर्दा पनि यो सरकार मौन रहेको अर्को विषय अझ संवेदनशील रहेको छ । यो मौन सम्मतिको लक्षण होइन यो कुरा यहाँलाई थाहा छैन ? प्रधानमन्त्री शेरबहादुर देउबा भारत भ्रमणका बेला चुच्चे नक्सा बुच्चे पारेको महामहिमले देख्नुभएन ? के यो चानचुने विषय हो र ? यस्तै यस्तै देशघाती र जनघाती काम गर्नका लागि ओली सरकारलाई दाहाल र नेपालविरुद्ध सुरुदेखि विरोध गरेर अन्तिममा हटाउन हत्ते हालेका हुन् । के उपर्युक्त विषयहरू सामान्य हुन् ? रोग यसरी नै सुरु हुन्छ स्वाधीनताको अपहरण यसरी नै सुरु हुन्छ । यस्ता विषयलाई सामान्य ठानेको हो ?
पूर्वराष्ट्रपति ज्यू कृष्ण पहाडीजीले तपाईंको नाम लिएर नागरिक पत्रिकाको ०७३ जेठ १७ गते प्रकाशित लेखमा संविधान जारी गर्ने बेलाको रहस्य खोलेका थिए । ती सबै कुरा अहिले यो लेखक उल्लेख गर्न चाहँदैन । तर तपाईं भने भर्खर संघीयतामा प्रवेश गरेको यस मुलुकमा प्रदेशहरूलाई सबै अधिकार प्रदान गर्नुपर्छ भन्ने तपाईंको हतारो अचम्म लाग्दो छ ।
दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा आउँदा हमारे प्रधानमन्त्री मोदी भनेका थिए । ओलीले प्रदेश देशको वा संघको युनिट वा एकाइ भनेकामा तपाईंले पनि आकासै खस्यो भनेझैँ अन्तर्वार्तामा भन्नुभएछ । देशभित्र प्रदेश हुन्छ प्रदेशभित्र देश हुँदैन । कि तपार्इंले प्र्रदेशलाई अलग देश भन्न खोज्नुभएको हो मान्यवर । त्यस आशयले तपाईंले भन्न खोज्नुभएको भए यो मुर्दावाद भन्न मिल्ने विषय हो । तपार्इंले मसिनो रूपमा परापूर्वकालदेखि अक्षुण्ण, अविभाज्य तथा एकल राष्ट्र रहेको नेपाललाई बहुराष्ट्रिय राज्य भन्न खोजेको भने यसलाई देशभक्त नेपालीले कदापि स्वीकार्दैनन् । नेपाल पहिलेदेखि नै बहुजातीय राष्ट्र हो तर यो देश बहुराष्ट्रिय राज्य होइन । मान्यवर तपार्इंले कुनै पार्टीको प्रचारकजस्तो भएर बोल्दा आफ्नै उचाइ घट्छ । कृपया हामीलाई पनि अप्ठ्यारो पार्ने गरी नबोलिदिनु होला ।
प्रतिक्रिया