काठमाडौं । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले गठबन्धन विपरीत दर्ता भएका बागी उम्मेदबारको उम्मेदबारी फिर्ता लिन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको शीर्ष नेताहरुको बैठकले चुनावी गठबन्धनको विषयमा भएका निर्णयहरु इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता पनि ब्यक्त गरको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन आउन १६ दिनमात्र बाँकी रहँदा देशका अधिकांश स्थानीय तहमा गठबन्धन दलभित्रैबाट ठुलो सँख्यामा बागी उम्मेदबारले मनोनयनपत्र दर्ता गराएका छन् ।
चुनावको मिति नजिकिँदै जाँदा गठबन्धन दलका शीर्ष नेताहरुका लागि यो ठुलै चिन्ताको विषय बनेको छ । बुधबार बसेको शीर्ष नेताहरुको बैठकले जुन दलका नेताहरुले गठबन्धनको निर्णय विपरित बागी वा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्, त्यही दलले नै उम्मेदवारी फिर्ता लिन पहल गर्ने निर्णय गरेको हो । ‘महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदबारी सम्बन्धित दलले नै फिर्ता गर्ने’, शीर्ष नेताहरुको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदबारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने ।’
देशभर हाल ६ वटा महानगर र ११ वटा उपमहानगर छन् । अधिकांश महानगर र उपमहानगरमा गठबन्धन दलभित्रैबाट ठुलो सँख्यामा बागी उम्मेदबार उठेका छन् । बैठकले महानगर र उपमहानगरमा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक राखी वडाका विभिन्न पदहरुमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटको समझदारी गर्ने निर्णय पनि गरेको छ । यस्तो बैठक बुधबार नै राख्ने निर्णय पनि शीर्ष नेताहरुले गरेका छन् । यसैगरी गठबन्धन दलबीच सिट बाँडफाँटको समझदारी हुननसकेका नगरपालिका, गाउँपालिका र वडाहरुमा स्थानीय र प्रदेश संयन्त्रले सम्झदारीका लागि प्रयास थाल्ने तथा त्यसका लागि केन्द्रीय स्तरको संयन्त्रसँग आवश्यक सहयोग र परामर्श लिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर अन्य कुनै दलसँग चुनावी तालमेल गरेको पाइएमा त्यसलाई केन्द्रबाटै खारेज गर्ने निर्णय पनि शीर्ष नेताहरुको बैठकले गरेको छ । कतिपय स्थानमा गठबन्धनभित्रका दलहरुले नेकपा एमालेसँग पनि तालमेल गरेका छन् । यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि तत्कालका लागि सबै गुनासा थाँति राखेर पाँच दलीय गठबन्धनका उम्मेदबारलाई जिताउन कार्यकर्तालाई आव्हान गरेका छन् । काठमाडौंमा आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रमा महामन्त्री थापाले अहिलेको स्थितिमा पार्टीको निर्णयलाई मान्नु सबैको दायित्व भएको बताए ।
‘बागी उठेका र पार्टी परित्याग गरेका साथीहरुलाई मेरो अनुरोध छ, अब दुई दिनमात्र बाँकी भएकाले पार्टीमा फर्कनुस । अहिले मिलेर जाऔं, चुनावपछि पार्टीमा गतिलो बहस गरौंला’, कार्यक्रममा महामन्त्री थापाले भनेका छन् । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।
यसैबीच, सत्ता गठबन्धन दलभित्रका बागी उम्मेदबारहरुसँग केन्द्रीयस्तरका नेताहरुले आआफ्नो तहबाट छुट्टै छलफल र वार्ता पनि गरिरहेका छन् । यसैक्रममा नेपाली काँग्रेसका बागी उम्मेदवारसँग छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । त्यसैका लागि गृहमन्त्री खाँड भरतपुर पुगेका हुन् । भरतपुरमा मेयर पद नेकपा माआवादी केन्द्र र उपमेयर पद नेपाली कांग्रेसले लिने सत्ता गठबन्धनबीच लिखित सहमति भएको छ ।
सत्ता गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराइसकेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताएका थिए । ‘गठबन्धन गर्दा सधैं आफूले चाहेजस्तो हुँदैन । गठबन्धनमा आबद्ध अन्य राजनीतिक दलसँग पनि संवाद र छलफल हुनुपर्छ,’ सञ्चारकर्मीसँग उनले भनेका छन्, ‘यतिबेला संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’
प्रतिक्रिया