काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाएका छन्। मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु । कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु । यो गठबन्धन यसैका लागि हो ।’
काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन् ।
उनले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण छोरीलाई मेयर बनाउनैपर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘प्रचण्डको अस्थिरताका कारण छोरीलाई कसरी मेयर बनाउन सकिन्छ भन्ने हो । लक्ष्य केही छैन, गन्तव्य केही छैन। मेयरका लागि बार्गेनिङ गरेको छ ।’ उनले २०७४ सालमा छोरीलाई मेयर बनाउने प्रस्ताव लिएर प्रचण्ड आफूकहाँ आएको बताए । आफूले नसक्ने बताएपछि बूढानीलकण्ठ लागेको उल्लेख गरे ।
‘सम्बन्ध राम्रै थियो । उहाँ आउनुभयो । छोरीलाई मेयर बनाउने कि नबाउने ? भनेर सोध्नुभयो, भरतपुरको मेयर हुन के योगदान छ ? म सक्दिनँ भनेँ,’ उनले थपे, ‘त्यसपछि लागौं त मेरो बाटो भनेर हिँडेका थिए । सकेसम्म नलाग्नुहोस् । सँगै जाउँ भनेकै हो । जुरुक्क उठ्नुभयो झोला टिपेर बूढानीलकण्ठ पुग्नुभएछ ।’
प्रतिक्रिया