जनकपुरमा मेयरमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । राजनीतिक दलको तर्फबाट मेयरमा सात जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने चार जना स्वतन्त्र उम्मेदवार छन् । सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरी सोमबार मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् । करिब पाँच दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा युवा नेता सरोज कुमार मिश्रले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेयले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनितादेवी साह र उपमेयरमा सन्तोषकुमार साहले मनोनयन दर्ता गराएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीताकुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् ।

त्यसैगरी मेयर पदमै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको हो । यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् ।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि ०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३ सय २३ पुगेको छ भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३ सय २८ जना मतदाता रहेका छन् ।

जनकपुरधामको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका हुन् । जनता समाजवादीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयरलाई नै उम्मेदवार बनाएका हुन् । ०७४ सालको निर्वाचनमा साह तत्कालीन राजपा नेपालबाट १० हजारभन्दा बढी मतान्तरले जितेका थिए । पछि पार्टी एकता भएर फुट्दा उनी जसपालाई नै रोजेका थिए । अहिलेसम्म मेयरका लागि जानकी राम साह, बलराम महतो, बैधनाथ साह, मनोज चौधरी, अनिता देवी साह, मुरली मनोहर मिश्रसहित दर्जनभन्दा बडीजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रिताकुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि जनकपुरधामका उपमेयर रहेकी मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको थियो भने मेयरका अर्का आकांक्षी जानकीराम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वतः सर्वसम्मत सिफारिस भएका थिए । उम्मेदवारी दर्ताको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मेयरका उम्मेदवार चौधरीले जनकपुरधामको चौतर्फी विकास गर्न आफूले उम्मेदवारी दिएको बताए ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा शिवशंकर साह (हीरा) र उपप्रमुखमा रूना झाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले मनोनयनको दोस्रो दिन सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । रूना सोमबार मात्रै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।

करिब पाँच दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोजकुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै पाँच दिनअघि मात्र एमालेमा प्रवेश गरेका थिए ।

आइतबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी नेतृ विभा ठाकुरले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा मनोनयन दर्ता गरेकी छन् । ठाकुरले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेसँगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो । जनमत पार्टीबाट अनिता साह, नेकपा मसालबाट गीता कुमारी मण्डल र तमलोपाबाट विभा ठाकुर जनकपुरधामको मेयरको उम्मेदवार बनेकी हुन् ।

जनकपुरधाम उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट बलराम महतो, मनोज साह र बैद्यनाथ साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सत्ता गठबन्धनबाट उपमहानगरको प्रमुख जसपाको भागमा परेपछि नेपाली कांग्रेसबाट राजिनामा दिएका मनोजकुमार साहले पनि उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस जनकपुरधाममा मजबुत हुँदाहुँदै जसपालाई त्यो सिट दिएर कांग्रेसलाई यहाँ समाप्त पार्ने खेल भएको छ, उनले भने ‘आफूले नेपाली कांग्रेसलाई बचाउनकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छु ।’

प्रतिक्रिया