छायाँनाथ रारामा कांग्रेसबाट मेयरमा भाम र उप-मेयरमा मल्लको उम्मेदवारी

मुगु । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन् । भामले आज मेयरमा मनोनयन दर्ता गराएका हुन् । कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको पनि मनोनयान दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । सदरमुकाम गमगढी बजारमा बाजागाजासहित बजार परिक्रमा गर्दै उनीहरूले मनोनयान दर्ता गराएका हुन् ।

ठूला दलमध्ये मनाेनयन दर्ता गराउने नेपाली कांग्रेस पहिलाे भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी गराए । उनका अनुसार नेकपा एमालेबाट मेयरमा डम्बरबहादुर रावल र उपमेयरमा टोमा लामा पनि उम्मेदवारी मनोनयनकाे तयारीमा छन् । एमालेका नेता कार्यकर्ता पनि बाजागाजासहित मनोनयान दर्ता स्थालमा पुगेका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलले सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ । केन्द्रीय निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा दलहरूले मनोनयन दर्ता गर्ने मिति तोके पनि यहाँका सत्ता गठबन्धनका दलहरू र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन मनोनयन गराएका हुन् ।

प्रतिक्रिया